
काठमाडौं — भेनेजुएलाका लागि अमेरिकाले पठाएको सहायता सामग्री बोकेका लरीहरू कोलम्बियाको सीमावर्ती शहर कुकुटा पुगेका छन् ।
ती वाहनहरू अहिले टिएनडिटास पुलनजिक रोकेर राखिएका छन् । त्यो पुलमा भेनेजुएलाका सैनिकहरूले नाकाबन्दी लगाएका छन् ।
सेनाको समर्थन पाएका राष्ट्रपति निकोलस मडुरोले ती लरीलाई देशमा प्रवेश गर्न दिएका छैनन् ।
आफूलाई अन्तरिम राष्ट्रपति घोषित गर्ने विपक्षी नेता हुआन गुआइडोले थुप्रै भेनेजुएलावासीहरू अन्तर्राष्ट्रिय सहायताको अभावमा मर्ने चेतावनी दिएका छन् ।
गुआइडो भेनेजुएलाको संसद् नेसनल एसेम्बलीका अध्यक्ष हुन् र राष्ट्रपति अवैध घोषित भएपछि संविधानले आफूलाई शक्ति प्रयोग गर्ने अधिकार दिएको उनी बताउँछन् ।
उनले ४० भन्दा बढी देशको समर्थन पाएका छन् । अमेरिका, धेरैजसो दक्षिण अमेरिकी मुलुक र युरोपेली मुलुकहरूले उनलाई समर्थन दिएका छन् । मडुरोलाई चाहिँ चीन र रुसले समर्थन दिइरहेका छन् ।
बिहीवार अनेकौं लरीहरू खानेकुरा र औषधि बोकेर कुकुटामा रहेको संकलन केन्द्र पुगेका थिए ।
ती वाहनलाई कोलम्बियाली प्रहरी मोटरसाइकलहरूले पहरा दिइरहेका छन् ।
मानवीय सहायता कसरी सीमापारि लगिने हो भन्ने विषय तत्कालै स्पष्ट हुन सकेको छैन ।
बीबीसीबाट