
काठमाडौं — थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नकी दिदीले अर्को महिना हुन लागेको आमनिर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । थाइल्यान्डमा रहेको राजपरिवारसम्बन्धी कडा कानूनले परिवारको आलोचनालाई अवैध बनाएको छ ।
राजकुमारी उबोलरतना राजकन्या सिरिवधना वर्नवादी राजाकी जेठी दिदी हुन् । उनले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राप्रति बफादारी राख्ने पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन् ।
‘पार्टी बोर्डले शिक्षित र सक्षम राजकुमारी उबोलरतना प्रधानमन्त्रीको योग्यतम उम्मेदवार भएकोमा सहमति जनाएको छ,’ थाइ रक्षा चार्ट पार्टीका नेता प्रीचापोल पोङपानिचले पत्रकारहरूलाई बताए ।
‘उनको योग्यताका विषयमा कुनै कानूनी समस्या नहुने मेरो विश्वास छ तर हामी उनको उम्मेदवारीलाई निर्वाचन आयोगले दिने स्वीकृतिको प्रतीक्षामा छौं,’ उनले भने ।
निर्वाचन आयोगले सबै उम्मेदवारलाई अर्को शुक्रवारसम्ममा स्वीकृति दिनुपर्नेछ ।
पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा अर्बपति व्यापारी हुन् र उनी अहिले स्वनिर्वासनमा छन् । उनी थाइल्यान्डमा एक दशकदेखि चलिरहेको तिक्त राजनीतिक विभाजनको केन्द्रमा छन् । उनलाई सेना र बैंककका सम्भ्रान्तहरूले घृणा गर्छन् तर गाउँका गरीबहरूले सम्मान गर्छन् ।
शुक्रवारै थाइल्यान्डका सैन्य शासक प्रयुत चान–ओचाले प्रधानमन्त्री पदमा लड्ने घोषणा गरे । तर उबोलरतनाको उम्मेदवारी घोषणापछि सेनाका योजनाहरू चकनाचुर हुने सम्भावना छ ।
थाइल्यान्डमा सन् १९३२ देखि संवैधानिक राजतन्त्र छ तर शाही परिवारले ठूलो प्रभाव राख्छ र लाखौं मानिस उसप्रति भक्तिभाव राख्छन् ।
द गार्डियनबाट