११ असार २०८३, बिहीबार

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त, सिन्धुली झडपमा प्रहरीसहित चार घाइते

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त, सिन्धुली झडपमा प्रहरीसहित चार घाइते

काठमाडौं– राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने प्रावधान छ । 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न भए वा राजनीतिक गतिविधिमा भाग लिए बर्खास्त गरिने’ उल्लेख छ । विदेशमा स्थायी बसोबासको अनुमतिपत्र (डीभी/पीआर) का लागि आवेदन दिएको पाइए पनि कर्मचारीलाई सिधै बर्खास्त गरिनेछ । 

तल्लोदेखि माथिल्लो तहसम्मकै निजामती कर्मचारी दलका झन्डा बोकेर राजनीतिक गतिविधिमा होमिन थालेपछि सरकारले नियमन गर्न खोजेको हो। विधेयकमा ‘राजनीतिक गतिविधिमा भाग लिए वा कुनैराजनीतिक पदका लागि उम्मेदवार बने’ सेवाबाट बर्खास्त गरिने प्रस्ताव छ । 

त्यस्तै राजनीतिक दलको चुनावको प्रचारप्रसार गर्न, जुलुसमा भाग लिन, चन्दा दिन, कसैलाई भोट माग्न, घेराउ गर्न, दबाब दिन, कलम बन्द गर्न, सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले अनशनमा बस्नसमेत कर्मचारीलाई प्रतिबन्ध लगाइएको छ । निजामती कर्मचारीका तर्फबाट टे«ड युनियनको राजनीति गर्नसमेत बन्देज लगाइएको छ । दलका शुभेच्छुक संगठन बनाउन भनेछुट छ । 

पार्टीअनुसारका ट्रेड युनियन खडा गरी राजनीति गर्ने र नाजायज माग पूरा गराउन राजनीतिक नेतृत्व र सरकारलाई दबाब दिने क्रम बढेपछि रोक लगाउन खोजिएको हो। निजामती कर्मचारीको हकहितका लागि एउटा मात्र आधिकारिक ट्रेड युनियन हुने र त्यसैमार्फत सरकारसँग संवाद र सहमति गर्ने प्रावधान राखिएको छ ।, कान्तिपुरमा खबर छ ।

प्रहरी र स्थानीयबीच झडप, चार घाइते 
सिन्धुलीको मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । शनिबार बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका छन् ।

झडपमा परी इप्रका कपिलाकोटमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका हुन् । यस्तै प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन् । 

उनको दाहिने पातामा गोली लागेको छ । प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न बेलुका प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको थियो । घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । घाइते प्रहरीहरूको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

यही माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए । शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताए ।

नेपाल–भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरबेज्’ थपिँदै
नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ ।    नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचारविमर्श गर्न दुवै राष्ट्रका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीच शनिबार पोखरामा सम्पन्न दोस्रो बैठकमा सन्धिमा रहेको व्यापारमार्ग (ट्रेडरुट)को प्रावधानमा रेल र सडकबाहेक जलमार्गसमेत समावेश गर्ने सहमति भएको हो । 

परिवर्तित सन्दर्भमा उक्त सन्धिका धारा÷उपधारालाई सामयिक तुल्याउँदै समयानुकूल परिमार्जनका निम्ति थप्नुपर्ने मुख्य विषयवस्तु ‘लिगल टेक्स’ तयार पारेर एकापसमा आदानप्रदान गर्ने  सहमति पनि बैठकमा भएको छ । वाणिज्य सन्धिका प्राविधिकसहितका सबै पक्षबारेमा संशोधन, परिमार्जन, सुझाव लिपिबद्ध गरेर त्यसका धारा÷उपधारामा के कस्ता व्यवस्था गर्ने भन्ने सम्बन्धमा दुवै देशले औपचारिक दस्ताबेज आदानप्रदान गर्ने सैद्धान्तिक सहमति भएको नेपाली प्रतिनिधिमण्डलका नेता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले जानकारी दिए । 

ओली र प्रचण्डबीच भेट
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीका विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको वालुवाटार स्रोतले जनाएको छ । भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्बाउन नहुने विषयमा छलफल भएको थियो । भेनेजुयला संकटका विषयमा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रचण्ड शब्दमा चिप्लिएको बताएपछि दुई अध्यक्षबीच सम्बन्ध चिसिएको थियो ।

नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने
विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी पञ्चाङ्ग (पात्रो) निर्माण गरिने भएको छ । दक्षिण एशियाली ज्योतिष महासङ्घको केन्द्रीय वार्षिक महासभाको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले पहिलो चरणमा अमेरिकाको समयअनुसार गणना गरी पात्रो प्रकाशन गर्न लागिएको बताए । 

हिमालयको काखमा रहेको नेपाल विश्वकै गुरु भएकाले पनि विश्वका जुन जुन देशले चाहन्छन् तिनीहरूका लागि पञ्चाङ्ग निर्माण गरिने भट्टराईले बताए । यसका समिति गठन गरिएको विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले जानकारी गराए । विश्वका ज्योतिषहरूको संस्थाले आवश्यक पर्ने देशका लागि पात्रो निर्माण गरिदिने गरी तयारी शुरु गरिएको उनले बताए । 

नेका जिल्ला सभापतिहरुको भेला
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आफूले दिएको सुझावलाई पालना गर्न नेतृत्वलाई सुझाएका छन् । काठमाडौंमा शनिबार भएको जिल्ला सभापतिहरुको भेलाले महासमिति बैठकले पारित गरेको विषय नचलाउन नेतृत्वलाई सचेत गराएको हो । 

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेलाले आफूहरुका सुझावलाई समेटेर महासमितिले पारित गरेको विधान नचलाउन नेतृत्वलाई आग्रह गरेको नुवाकोटका सभापति जगदिशनरसिंह केसीले जानकारी दिए । महासमितिले पारित गरेको विषयलाई केन्द्रीय समितिले उल्ट्याउन खोज्नु हाँस्यास्पद भएको उनीहरुले बताएका छन् ।

नेपाली क्रिकेटरको रोकिएको तलब आयो
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको दुई वर्षदेखि रोकिएको तलब निकासा भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दुई बर्षदेखि रोकिएको नेपाली क्रिकेट खेलाडीको मासिक तलब निकासा गरेको हो ।

सन् २०१६ देखि रोकिएको तलब वापतको रकम आईसीसीले राखेपको खाता रहेको स्टान्डर्ड चार्टड बैंकमा पठाएको छ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा रोकिएको खेलाडीको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद राखेपको खातामा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । 

ए श्रेणीका खेलाडीले ३५ हजार, बी श्रेणीका खेलाडीले २५ हजार र सी श्रेणीका खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्