
फिक्कल – इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहोर प्लास्टिक खरीद गर्न थालेको छ ।
वातावरण स्वच्छता कायम गर्नका लागि प्लास्टिकजन्य फोहोर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ ।
गत माघ १ गतेबाट प्रतिकिलो १५ रुपैयाँका दरले प्लास्टिकजन्य फोहोर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
प्लास्टिक खरीद गर्न माघ १ गतेबाट शुरू गरिएको भएपनि अहिलेसम्म प्लास्टिकजन्य फोहोर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ ।
फोहोर प्लास्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले विक्रम संवत् २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्य वस्तुको प्याकेजिङमा भएको प्लास्टिक लगायतका प्यास्टिकजन्य फोहोर खरीद गर्ने भएको हो ।
इलाम नगरपालिकामा दैनिक ७ टन फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करीब १० प्रतिशत प्लास्टिजन्य फोहोर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ ।
नगरपालिकाले खरीद गरेको फोहोर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ ।
सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । हाल नगरपालिकाले महिनाको २ दिनमात्रै सिसाजन्य फोहोर संकलन गर्ने गरेको छ ।