
काठमाडौं — अमेरिकाको टेक्सास राज्यमा रहेको ह्युस्टनमा सुनसान घरमा गाँजा तान्न छिरेका एक व्यक्तिले बाघ फेला पारेका छन् ।
उक्त व्यक्तिले बाघको बारेमा प्रहरीसमक्ष रिपोर्ट गर्दा पहिला त प्रहरीले गाँजको सुरमा जे पायो त्यही बोलिरहेको ठाने ।
तर उनीहरू सुनसान घरमा आइपुग्दा एक विशाल बाघ गराजभित्रको साँघुरो खोरमा थुनिएको अवस्थामा भेटे ।
नजिकै मासुका केही प्याकेजहरू राखिएका थिए । त्यसबाहेक घरमा कोही बसेको कुनै लक्षण देखिएको थिएन ।
बाघ कसरी त्यहाँ आइपुग्यो भनी अनुसन्धान गरिने अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताए ।
उनीहरूका अनुसार, सुनसान घरमा बाघ पहिलोपटक देख्ने मानिस त्यहाँ बस्दैनथिए र उनी त्यहाँ गाँजा तान्न गएका थिए ।
खोर सामान्य खालको भएको र त्यसलाई स्क्रुड्राइभर र नाइलनको डोरीले सुरक्षित राखिएको प्रहरीको भनाइ छ ।
त्यस्तो अवस्थामा रहेको भए पनि बाघ शान्त नै थियो तर जनावर उद्धारकहरूले उसलाई घरबाट सुरक्षित निकाल्नका लागि बेहोश बनाउने सुई हाने ।
बाघलाई टेक्सासमै रहेको आरक्षमा सारिएको छ र उक्त आरक्षको ठेगाना सार्वजनिक गरिएको छैन ।
अहिले संसारभरिको जंगलमा चारहजारभन्दा कम बाघ बाँकी रहेको वर्ल्ढ वाइल्डलाइफ फन्डको आँकलन छ ।
बीबीसीबाट