
काठमाडौं — एक अमेरिकी टीभी होस्टको अनौठो बानीको खुलासा भएपछि सामाजिक सञ्जाल हल्लिएको छ ।
फक्स न्युजका होस्ट पिट हेगसेथले विगत १० वर्षदेखि हात नधोएको बताएका छन् । जीवाणु भन्ने कुरा हुँदैन भनी उनले हात नधोएको बताए । आफूले जीवाणु नदेखेकाले त्यसमा विश्वास नगर्ने उनको भनाइ छ ।
नांगो आँखाले नदेखिने भएकाले सूक्ष्म जीवाणु नहुने हेगसेथ बताउँछन् ।
हार्वर्ड र प्रिन्सटन विश्वविद्यालयमा पढेका हेगसेथले फक्स यान्ड फ्रेन्ड्स नामक टीभी शोमा आइतवार यो कुरा सार्वजनिक गरेका हुन् ।
पछि गएर चाहिँ उनले सफाइ दिँदै आफूले मजाकमा टिप्पणी गरेको बताए तर केही मानिस सफाइका लागि बढी नै त्रसित हुने भनाइ राखे ।
हेगसेथले यूएस टुडे पत्रिकालाई बताए, ‘हामी बस्ने समाजमा केही मानिस गोजीमा ह्यान्ड स्यानिटाइजर लिएर घुम्छन् । उनीहरू दिनभरि त्यो हातमा दलिरहन्छन् मानौं यसले नै उनीहरूको ज्यान बच्छ । म आफ्नो रेखदेख गर्छु तर जतिखेर पनि त्यसको पछि लाग्दिनँ ।’
एजेन्सी