
गोरखा - नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले जनसंवाद यात्रालाई राजनीतिक तपस्याको बाटोको रुपमा चित्रण गरेका छन् । बुधवार गोरखाको पालुंगटारमा आयोजित जनसभालाई सम्बोधन गर्दै भट्टराईले परापूर्वकालमा ऋषिमुनीहरुले जाडोमा हिमालमा र गर्मीमा अग्नीको सामिप्यमा गएर गरिने तपस्या आफुलाई शुद्ध बनाउनको लागि गरिएको बताए ।
आफूले शुरू गरेको जनसंवादलाई पौराणिक कथासँग जोड्दै भट्टराईले भने, 'यो एक राजनीतिक तपस्याको बाटो हो, यो एक प्रकारको राजनीतिक तीर्थयात्रा हो, त्यही तपस्याको निम्ति यो यात्रा गर्दैछौँ । त्यसले हामी शुद्ध छौ ? कि छैनौ ? भन्ने कुरा जनताबाट प्रष्ट देख्न सकिन्छ ।'
असल राजनीतिको कुरा गर्नु पहिले आफू असल र शुद्ध हुनुपर्ने धारणा राख्दै भट्टराईले भने, ‘हाम्रो राजनीति सफा हुनु पर्यो, त्यसको निम्ति कुनै जादूको छडी छैन ।'
भट्टराईले त्यसको निम्ति जनताको बीचमा जाने, संवाद गर्ने, जनताको सुझाव लिने, आलोचना सुन्ने र त्यसपछि आफूलाई रुपान्तरण गर्ने मात्रै एउटा शुद्धिकरणको बाटो हो भन्ने धारणा राखे । जनता भगवान हुन् भन्दै भट्टराईले भने, ‘हाम्रो निम्ति भगवान भनेको तपाईंहरू जनता हो । तपाईंको बीचमा गएर तीर्थयात्रा गरेर हामी आफूलाई शुद्धीकरण गर्न चाहन्छौं । वीचमा गएर तिर्थ यात्रा गरेर हामी आफुलाई शुद्धिकरण गर्न चाहन्छौ ।'
जनयुद्धप्रति आफूलाई गर्व रहेको बताउँदै भट्टराईले जनयुद्ध दिवसको अवसरमा महान शहिद, वेपत्ता परिवारजन, घाइते योद्धाहरुलाई श्रद्धासुमन पनि व्यक्त गरे । ‘सत्तामा पुगेका जिउँदा सहिदहरू, एकपछि अर्को गर्दै भ्रष्टाचार काण्डमा मुछिनु भएको छ ।' भट्टराईले भने, 'पहिले पहिलेका समयमा भएका भ्रष्टचारका काण्डलाई समेत उछिन्ने गरी भ्रष्टाचारमा मुछिएका छन् ।'