१० असार २०८३, बुधबार

'जग हालेकै दिनमा घर बन्दैन' - प्रवक्ता बास्कोटा

फागुन १, २०७५
'जग हालेकै दिनमा घर बन्दैन' - प्रवक्ता बास्कोटा

सुर्खेत- सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जग हालेको दिनमा घर बन्न नसक्ने बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले केही गर्न नसकेको भन्ने भनाई प्रति कटाक्ष गर्दै बास्कोटाले सरकारले अहिले देश बनाउनका लागि जग हालिरहेको बताए ।

सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलनलाई बुधबार उदघाटन गर्दै मन्त्री बास्कोटाले प्रतिपक्षमा धैर्यता नभएको आरोप लगाए । 'सरकार निर्माण भएको एक वर्ष पुग्दैछ । बजेट आएको ६ महिना भएको मात्र भएको छ,' मन्त्री बास्कोटाले प्रश्न गरे, '६ महिनामा सबै काम हुन्छ त ?'

उनले प्रतिपक्षी कांग्रेसले अधिनायकवादी, बहुमतको दम्भ भन्ने शब्द बारम्बार प्रयोग गर्दै आइरहेको बताउँदै सरकार कहिल्यै अधिनायकवादी नबनेको बताए । मन्त्री बास्कोटाले हरेक प्रदेशमा पचास लाखको दरले सञ्चार ग्राम बनाउन बजेट पठाइएको जानकारी दिए ।

यसका साथै ज्येष्ठ पत्रकारलाई औषधी खानको लागि भएपनि पेन्सन दिने योजना सरकारले बनाएको बास्कोटाले जानकारी दिए । 'त्यसका लागि साढे दश करोड बराबरको कोष बनाइनेछ,' मन्त्री बास्कोटाले भने, 'न्युनतम पारिश्रमीक कडाइका साथ लागू गरिनेछ ।'

'हामी श्रमजिवी पत्रकारका र मिडिया मालिक दुवैका कुरा सुन्छौं,' उनले भने, 'न्युनतम पारिश्रमीक कडाइका साथ लागु गर्छु ।'

उनले सय वाटसम्मको रेडियो स्थानीय तह, एक हजार वाट सम्मको रेडियो प्रदेशले अनुमति दिन पाउने बताए । फेसबुक, ट्वीटर नेपालमा दर्ता हुनपर्ने व्यवस्था गर्ने बताए । 'हामी नचलाउनुहोस भन्दैनौं तर उनीहरु करको दायरामा आउनुपर्छ,' बास्कोटाले भने ।

बास्कोटाले सुर्खेतमा आठ महिनामा फोर जी सेवा आउने र  नेपालमै कागजात छाप्ने गरी सेक्युरिटी प्रिन्टिंग प्रेस ल्याउने बताए । 'हिजो के भयो थाहा छैन, हामी जनताको सपनामाथि तुषारापात गर्दैनौं,' बास्कोटाले भने, 'हामी काम गर्न आएका हौँ ।'

डाक्टर गोविन्द केसीले गरेको अनसनका बारेमा बोल्दै मन्त्री बास्कोटाले शिक्षण अस्पतालको हाड जोर्नी विभागको हालत के छ कसैले क्यामेरा तेर्स्याएका छैनन्  भन्दै पत्रकारको आलोचनासमेत गरे ।

मिडिया सरकारको आलोचक हुनुपर्ने तर अहिले केही मिडियाले प्रतिपक्षीको भूमिका खेलिरहेकोमा बास्कोटाले आक्रोश व्यक्त गरे । 'प्रतिपक्षीको भूमिका खेल्ने काँग्रेस छदैँछ,'मन्त्री बास्कोटाले भने, 'मिडिया सधैं सरकारको आलोचक बन्नु पर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्