काठमाडौं, २९ फागुन - कांग्रेसभित्र मधेस मोर्चामा आबद्ध दललाई सत्तासमीकरणबाट बाहिरिन नदिन दबाब बढेको छ । मधेसीलाई अलग गर्दा घोषित स्थानीय तहको निर्वाचन सुनिश्चित नहुने कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ केन्द्रीय सदस्य र तराई–मधेसका सांसदहरूले बताएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कांग्रेस बैठकमा अधिकांश नेताहरूले मधेसीलाई अलग गरेर जान नहुने बताएका थिए । संशोधन विधेयक पारित गराउन कांग्रेस सक्रिय भएमा मधेसीसहित सबै दलले निर्वाचनमा भाग लिने वातावरण बन्ने उनीहरूको धारणा रहेको खबर आजको नयाँ पत्रिकाले छापेको छ |
यसैबीच सभापति शेर बहादुर देउवाको पार्टी सञ्चालन शैलीप्रति नेता रामचन्द्र पौडेलले शुक्रबार पनि असन्तुष्टि राखेका छन् । ‘हामी पनि सरकारमा छौँ, तर माओवादी र अरू दलका मन्त्रीको एकलौटी देखिएको छ । हाम्रै पार्टी राम्रोसँग सञ्चालन भएन, विधि, प्रक्रिया, पद्धतिमा हिँडेन,’ पौडेलले भने, ‘नियमित बैठक नबस्ने, पार्टीका संरचनालाई पूर्णता नदिने अवस्थाले पार्टी निरंकुशतातिर जान्छ । मैले चिठी लेखेर बैठक डाक्न आह्वान गरे । तर, चिठीको वास्ता किन गरिएन ?’ आफूहरूले पार्टीमा भागबन्डा नखोजेको भन्दै पौडेलले नेताको मूल्यांकनलाई सम्मान गर्न सुझाब दिए ।