
सुर्खेत - कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको नौमुले गाउँपालिका वडा नं. १ तोलीका ५४ घरधुरीको अहिले समय फेरिएको छ । विगतका वर्षहरुमा खान नपुग्ने भएका कारण पैसा कमाउन भारतका विभिन्न शहरमा जाने यी घरधुरीमा अहिले खुशीयाली छाएको छ ।
दशैं, तिहार लगायतका चाडपर्वमा सबै सँगै रमाउने गरेका तोलीका यी घरका जीवनमा यस्तो परिवर्तन साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले ल्याएको हो । स्थानीयले गठन गरेको 'नमूना कृषि दियालो सहकारी'मा २०७३ सालको असारमा २६ लाख ६९ हजार ४६९ रुपैंया तरकारी खेतीगर्न भनेर अनुदान दिइएको थियो । स्थानीयले उक्त काम एक वर्षमा मेहनत गरेर काम सम्पन्न गरे ।
स्थानीय वीरेन्द्र हमालका अनुसार उतिबेला आयोजनाले दिएको रकमबाट विभिन्न तरकारी खेती गर्न सुरू गरे । ‘पहिले हामी भारत जाने केहि महिना बस्ने र कमाएर आउने गरेका थियौं,' उनले भने, ‘उतिबेला हामी मोही र नुनसँग मकैको रोटी खान्थ्यौं, तरकारी खानुपर्छ भन्ने थाहा नै थिएन ।’
उनका अनुसार अहिले उक्त बस्तीको मुहार फेरिएको छ । वार्षिक रुपमा तरकारी बेचेरै गत वर्ष २९ लाख ३४ हजार १८७ आम्दानी बस्तीले गरिसकेको छ । ‘एकातिर आम्दानी पनि भइरहेको छ । कृषकले छोराछोरीलाई बजारमा पढाउन थालेका छन्,’ उनले भने, ‘गाडी नपुगेका कारण अहिले स्थानीयले नौमुले बजारमा डोकोमा राखेर आफ्ना उत्पादनहरू बिक्री गर्ने गरेका छन् । हरेकको घरमा अहिले तरकारी खेती छ ।'
वीरेन्द्रनगरमा उज्जवल कृषि महिला समुह छ । महिला समुहमा आयोजनाले १३ लाख १९ हजार ६७५ रुपैंया अनुदान दिएको थियो । बाँकी २० लाख ५७ हजार रुपैंया उनीहरु आफैंले लगानी गरे । उनीहरुको लगानीमा १२ ओटा टनेलहरु बनाइए । ती टनेलमा ७ हजार २ सय डल्ला राखियो अनि सुरू भयो च्याउन खेती ।
समुहकी नमिता ढकालका अनुसार यो वर्ष मात्रै समुहले ६.८ क्विन्टल च्याउन उत्पादन गरेको छ । ६.५ क्विन्टल च्याउ बिक्री गरेर ६ लाख ६२ हजार पाँच सय आम्दानी गरेको छ । समुहले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने २५ जनाले अप्रत्यक्ष रुपमा रोजगारी दिएको ढकालको भनाई छ ।
कर्णालीका दुई जिल्ला सुर्खेत र दैलेखमा ११ जुन २०११ देखि परियोजना सुचारु भएको आयोजनाका निर्देशक गोकर्णराज अर्यालले बताए । उनका अनुसार आयोजनाले कर्णालीका दुइ जिल्लामा उत्पादन सामाग्रीका लागि अनुदान दिन २८ ओटा, फार्म विकास तथा प्रविधि अनुदान ७४ ओटा र उत्पादन उपरान्तका मूल्य श्रंखलामा लगानी अनुदानका लागि ४ उप-आयोजनामा लगानी गरेको छ ।
विकासमा राजनीतिनगरौं -मन्त्री केसी
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले विकासमा राजनीति हुने प्रचलन् भएका कारण विकास हुन नसकेको बताईन् । ‘हरेक विकासमा राजनीति गर्ने चलनकै कारण आज हामी यो अवस्थामा छौं,’ मन्त्री केसीले भनिन्, ‘अब सबैले यो प्रचलन त्याग्नै पर्छ ।’
मन्त्री केसीले सबै सरकार, विकास साझेदार सबैले सहकार्य गर्नुपर्नेमा जोड दिइन् । ‘विकासमा सबैको एकता नभएसम्म हामी विकास गर्न सक्ने स्थिति छैन,' उनले भनिन, ‘आउनुहोस सबै हातेमालो गरौं । जनताले चाहेको जस्तो विकास गरौं । एकाकार भएर काम गर्न सके योजना डुप्लिकेशन पनि नहुने, पारदर्शिता पनि कायम हुने र परिणाम पनि देखिन्छ ।’
उनले कृषि क्षेत्रको विकास गर्न चुनौती भएको बताईन । ‘अनुदान सोझै दिए भ्रष्टाचार हुने वा दुरुपयोग हुने सम्भावना छ,' उनले भनिन्, ‘उता सामान्य किसानले कागजी झमेला मिलाउन सक्दैन । जसले काम गर्छ उसले राम्रो प्रपोजल बनाउन सक्दैन ।’
उनले यो झमेला सरकारी निकायमा पनि रहेको बताईन् । ‘कसरी साँच्चिकै किसानसम्म पुग्न सकिएला ?’ उनले प्रश्न गरिन्, ‘सरकार काम गर्ने किसानसँगै काम गर्न चाहन्छ । तर उपाय के हुन सक्ला ?’ मन्त्री केसीले सहकारी एक विकल्पको रुपमा रहेको बताईन् ।