
विराटनगर- प्रदेश १ सरकारले दोस्रोपटक प्रजातन्त्र दिवस मनाएको छ । विराटनगरमा मंगलबार ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताले विकास र समृद्धिको जनादेश दिएकोले त्यस जनादेशको कार्यान्वयनको पक्षमा आफूहरु उभिएको बताएका छन् ।
प्रदेश सरकारको एकवर्षे कार्यकाल सुस्त भएको भन्ने टीप्पणीप्रति मन्त्री कार्कीले समृद्धिका लागि सरकार, राष्ट्रसेवक सबैले एक भएर कार्य गर्नुपर्ने अवस्था रहेको बताए । जनताको बलमा प्राप्त जनादेशमा निराशा छाउन नदिनका लागि प्रदेश सरकारले बनाएको योजना, घोषित कार्यक्रमलाई पूर्णता दिनुपर्ने आफूहरुको अभिभारा रहेको मन्त्री कार्कीको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली जनतामा अझैपनि हिजोकै सामान्तवादको ढर्रा यथावत रहेको गुनासो गरे । मन्त्री घिमिरेले सामान्तवादी ढर्रालाई विस्थापित गर्दै लोकतान्त्रिकरण गर्ने भन्ने चुनौतिको विषय आफूहरुबीच समस्याका रुपमा रहँदै आएकोले त्यसबाट सबै बाहिर निस्कनु आवश्यक रहेको बताए ।
प्रजातन्त्र दिवसका अवसरमा प्रदेशस्तरीय समारोह समितिले विराटनगरको ट्राफिक चौकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्म प्रभातफेरिको आयोजना गरेको थियो । प्रभातफेरिका क्रममा प्रदेशका कृषि वन पर्यटन मन्त्री जगदीश कुसियत, मोरङ जिल्ला प्रमुख रमेशकुमार केसी, प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल लगायतको उपस्थिती रहेको थियो ।