०५ असार २०८३, शुक्रबार

आधुनिक नक्साका लागि मुलुकभर १५० नयाँ बिन्दु स्थापना गरिने

कात्तिक २०, २०७४
आधुनिक नक्साका लागि मुलुकभर १५० नयाँ बिन्दु स्थापना गरिने
  • (भीष्मराज ओझा)


काठमाडौँ, १ पुस - सरकारले नापनक्साको तथ्याङ्कलाई शुद्ध बनाउन मुलुकभर १५० स्याटलाइट प्रविधिमा आधारित नापनक्साका लागि पूर्वाधार बिन्दु (कन्टिनिउ अब्जर्भेसन रेफरेन्स स्टेसन) स्थापना गर्ने भएको छ ।

अन्तरिक्षमा रहेका स्याटलाइटले पठाउने सूचना चौबिसै घन्टा ग्रहण गरी कुनै पनि स्थानको स्थिति (अक्षांश, देशान्तर र उचाइ) का बारेमा स्पष्ट जानकारी हासिल गर्न त्यस्ता बिन्दु स्थापना गरिन लागेको नापी विभागले जनाएको छ ।

हाल २४ सै घन्टा त्यस्तो सूचना प्राप्त गर्न नापी विभागले स्थापना गरेको बिन्दु एकमात्र काठमाडौँको नगरकोटमा अवस्थित छ । यसले शुद्ध तथ्याङ्कमा आधारित नक्सा तयार पार्न मद्दत गर्छ ।

विभागले त्यस्ता बिन्दु स्थापना गर्ने प्रतिवेदनसहितको प्रस्ताव भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई बुझाइसकेको महानिर्देशक कृष्णराज बिसीले जानकारी दिनुभयो । एक बिन्दुबाट अर्काे बिन्दुसम्मको दूरी ५० किमी नबढ्ने गरी निर्माण गर्ने योजना विभागको छ । १५० बिन्दुको निर्माण गर्न रु दुई अर्ब ६६ करोड रकम प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

यससँगै विभागले पहिलो चरणमा भूकम्पबाट प्रभावित ३१ जिल्लामा आधुनिक प्रविधिबाट इमेजमा आधारित नक्सा तयार गर्ने अर्को प्रस्तावसमेत अघि सारेको छ । जसको कुल लागत रु दुई अर्ब ४४ करोड छ । दुवै प्रस्ताव मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाएको र प्राधिकरणको ‘विपद्पछिको पुनःनिर्माण खाका’ (पिडिआरएफ) मा दुई परियोजना समावेश भएको महानिर्देशक बिसीले जानकारी दिनुभयो ।

दुवै परियोजना निर्माणले भोलिको सङ्घीय संरचनामा जाँदा पनि सिमाना निधार्रण गर्न धेरै सजिलो हुने बताउँदै उहाँले भन्नुभयो, “इमेजमा आधारित नक्सा प्रणालीले २०२१ सालको पुरानो नापनक्सा प्रणालीलाई आधुनिक बनाउनेछ ।” यस प्रविधिले जमिनको इन्च इन्च स्पष्ट रुपमा छुट्याइदिन्छ । बजेट आउने निश्चित भए विभागले तीन वर्षभित्र बिन्दु निर्माण र दुई वर्षमा नक्साङ्कन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

विभागले यही डिसेम्बर १२ देखि १६ सम्म राजधानीमा आयोजना गरेको ‘एप्लिकेसन अफ ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टमस्’ विषयक कार्यशाला गोष्ठीमा सो विषयमा समेत बृहत् रुपमा छलफल भएको थियो ।

गोष्ठीमा छवटै महादेशबाट प्रतिनिधित्व गरी ३२ देशका ११३ सम्बन्धित विषयका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र वैज्ञानिक रहेका विभागको खगोल तथा भू–मापन महाशाखा प्रमुख निरज मानन्धरले जानकारी दिनुभयो ।

गोष्ठीको उद्देश्य नेपालमा स्याटलाइटका माध्यमबाट अक्षांश देशान्तर र उचाइ निर्धारण गर्ने (जिएनएस) प्रविधिको विकास गर्ने, भूकम्पबाट क्षति भएको नेपालको जियोलोजी नेटवर्कको पुनःस्थापनामा सहयोग पु¥याउने रहेको उहाँले बताउनुभयो ।

वैशाख भूकम्पले विद्यमान नाप नक्साको बिन्दुलाई असर पारेको थियो । भूकम्पले जमिन हल्लिएपछि काठमाडौँ उपत्यकाको जमिन एक मिटर दक्षिणतर्फ सरेको र १.५ मिटर उचाइ बढेको विभागले प्रारम्भिक अध्ययनपछि तथ्याङ्क सार्वजनिक गरेको थियो ।

यस्तो स्थिति फरक परेपछि त्यसबाट पहिले बनेका नक्साङ्कनमा शुद्धता कमी हुन्छ । त्यसैले यस्ता भौगोलिक सूचनाको पूर्वाधारको बिन्दु निर्माण गर्न आवश्यक छ । त्यस्ता बिन्दुको पुनःनिर्माणको आवश्यकता छ ।

कार्यक्रम समापनका अवसरमा आज भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री पाण्डेले स्याटलाइट प्रविधिको ज्ञान र उपयोगिताले आधुनिक नाप नक्सामा कोशेढुङ्गा सावित हुने मात्र नभई दिगो विकासमा समेत योगदान पुग्ने विचार व्यक्त गर्नु भयो । रासस

salt training

कमेन्ट गर्नुहोस्