२६ जेठ २०८३, मंगलबार
संसद्‍मा प्रश्नोत्तर

मेलम्ची खानेपानीबारे मन्त्रीको फर्मुला : आयोजना+सीएमसी=काठमाडौंवासी जनता

फागुन १०, २०७५
मेलम्ची खानेपानीबारे मन्त्रीको फर्मुला : आयोजना+सीएमसी=काठमाडौंवासी जनता

काठमाडौं – खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन आफ्नो फर्मुला संसदमा सुनाएकी छन् ।

सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनालाई सफल पार्न ‘मेलम्ची आयोजना+सीएमसी=काठमाडौंवासी नेपाली जनता’ फर्मुला सुनाएकी छन् ।

आफ्नो फर्मुला अनुसार पूर्वसचिव गजेन्द्र ठाकुरले काम गरेको नपाइएको मन्त्री मगरले बताइन् । सचिव ठाकुरसँग मन्त्री मगरको विवादबारे सञ्चारमाध्यममा आएका समाचारका विषयमा सोधिएको प्रश्नमा मन्त्री मगरले भनिन्, ‘मिडियाले के कसो भनेर राष्ट्र डुबाउन खोजेको विषयको सम्बन्धित व्यक्तिमै जवाफदेहिता हुन्छ, मलाई यो हिसाबकिताब आउँदैन ।’ आफूले सचिव ठाकुरका विषयमा कतै आधिकारिक धारणा नदिएको मन्त्री मगरले बताइन् ।

‘कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा पनि विभिन्न भ्रम फैलिएको छ नियोजित ढंगले । एउटा मिडियाले मन्त्रीले १ अर्ब कमिशन खायो भनेर निकै प्रचारबाजी गरेको छ । त्यसपछि मैले मन्त्रालयमा हिसाबकिताब हेरे । जम्मा ८४ करोड १५ लाख भुक्तानी भएको छ म आएपछि,’ उनले संसद बैठकमा भनिन्, ‘केही मिडियाले नियोजित ढंगले गर्न खोजे प्रचारबाजीभन्दा मन्त्रालयले संयमित ढंगले गर्न खोजेको कामलाई सहयोग गरिदिन अनुरोध गर्छु ।’

मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गर्ने विषयमा मन्त्री मगरले संसदमा २ वटा विकल्प दिइन् – पहिलो इटलियन कम्पनी सीएमसीलाई नै फिर्ता बोलाउने र दोस्रो नयाँ टेन्डरमार्फत् छिटो काम सम्पन्न गर्ने । सीएमसी कम्पनीलाई नै सरकारले फिर्ता बोलाउने प्रयास गरिरहेको बताउँदै मन्त्री मगरले पूरानै ठेकेदारले आए फाइदा हुने बताइन् ।

‘सीएमसी आए । नेपाली भेन्डरको समस्या हल गर्न सक्छौं, रि–टेन्डरबाट जानुभन्दा छोटो अवधिमै मेलम्चीको पानी ल्याउने । त्यो बीचमा पनि केही व्यवधान छन्, विधिसम्मत् ढंगले ठेक्काको मान्यताभित्र रहेर सीएमसी काम गर्न आए सरकारले वेलकम गर्ने छ । विधिसम्मत् बाहिर कोही जान सक्दैन,’ उनले भनिन् ।

आयोजना, ठेकेदार कम्पनी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं आउने मितिबारे यसअघि बोलिएको स्पष्ट पार्दै मन्त्री मगरले भनिन्, ‘अब जनताको अधिकम् हितलाई मध्यनजर गर्दै सीएमसी वा नयाँ प्रक्रियाबाट काठमाडौंवासीलाई पानी पुर्याउन प्रतिवद्ध छौं ।’

मन्त्री मगरले आफूले कार्यभार सम्हालेपछि तुलनात्मक रुपमा मेलम्चीमा रफ्तारमा काम भएको बताइन् । ‘मेलम्चीलाई जुन स्पीडमा मैले नेतृत्व गरेपछि लिएर अगाडि बढेका थियौं, धेरै उल्लेखनीय काम भएको छ । तुलनात्मक रुपमा निकै फड्को मारेको छ,‘ उनले भनिन्, ‘तर एउटा अन्तिम परिणाम दिन सफल भएन, सीएमसीको पछिल्लो चरणको लापरवाहीका कारणले सकेनौं । तुलनात्मक रुपमा मेरो कार्यकालमा उल्लेखनीय काम भएको छ, निकै रफ्तारमा काम गर्यौं ।’ 

आफ्नो कार्यकालमा टनेलको ब्रेक थ्रुु, टनेल फिनिसिङ, भेन्टिलेसन, गेट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताइन् । ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, उपत्यकावासी जनताको निकै महत्त्वपूर्ण आयोजना हो । मेरो व्यक्तिगत, मेरो सफलतासँग जोडिएको विषय हो,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्