
काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरू आर्थिक रूपमा सशक्तिकरण हुने अभियान सञ्चालन गर्नुपर्ने बताएकी छिन् । मन्त्री अर्यालले अबको महिला आन्दोलनको दिशा आर्थिक सशक्तीकरणसहितको हुनुपर्ने समेत बताइन् ।
अखिल नेपाल महिला संघ केन्द्रीय महिला हिंसा विरुद्धको अभियान र केन्द्रीय युवा समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा अन्त्यको लागि विद्यमान कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै अबको महिला आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।
अर्को प्रसंगमा मन्त्री अर्यालले राष्ट्रपति जस्तो संस्थालाई अनुचित रूपमा बिवादमा ल्याउने गलत प्रवृत्तिका विरूद्धमा बोल्न समेत आग्रह गरिन् ।
राष्ट्रपति भनेको विद्यादेवी भण्डारी मात्र नभएर संस्था भएकाले संस्थाको सम्मान गर्नपर्ने उनको भनाइ थियो ।
मन्त्री अर्यालले नियतबस सरकार असफल बनाउने प्रयत्न विरुद्ध बोल्न आग्रह गर्दै पाँच वर्षमा यो सरकारले केही उथलपुथल ल्याउने दाबी गरिन् ।
नेपालको महिला आन्दोलन सुधारको क्षेत्रबाट शुरु भएको स्मरण गर्दै मन्त्री अर्यालले मुलुकको राष्ट्रपति बनाउने ठाउँसम्म पुगेको भन्दै अब प्रधानमन्त्री बनाउनेतर्फ लाग्नुपर्ने समेत बताइन् ।
देशभरका युवालाई सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको अनेमसंघ केन्द्रीय युवा समितिका अध्यक्ष दिपा शर्माले जानकारी दिइन् ।