
साँखु – महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका २, सुर्खेतका १ र नवलपरासी घर भई काठमाडौं बस्ने १ गरी १८ वर्ष मुनिका ४ जना रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
उनका अनुसार कपन तेञ्जिङ चोकमा रहेको कोनिका इलेक्ट्रोनिक पसल सञ्चालन गरी बस्ने गोपाल राईको पसलको सटर फोरेर मोबाइल लगायतको सामान चोरेका थिए । पक्राउ गरिएका उनीहरूलाई प्रहरीले चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
पक्राउ परेका सबै बालबालिका भएकाले उनीहरुलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।