११ असार २०८३, बिहीबार

मनमा नोबेल शान्ति पुरस्कारको सपना साँचेर किमलाई भेट्दैछन् ट्रम्प

फागुन १२, २०७५
मनमा नोबेल शान्ति पुरस्कारको सपना साँचेर किमलाई भेट्दैछन् ट्रम्प

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनामको राजधानी हनोईमा यही बुधवार र बिहीवार किम जोङ–उनसँग दोस्रो शिखरवार्ता गर्ने भएका छन् । 

हनोई पुग्नका लागि किम ट्रेन चढेर आजै त्यतातर्फ प्रस्थान गरिसकेका छन् । 

सिंगापुरमा सन् २०१८ को जुन महिनामा भएको पहिलो शिखरवार्तापछि सुस्त रहेको शान्ति प्रक्रियालाई पुनर्ताजगी गर्नका लागि दोस्रो शिखरवार्ता हुन लागेको हो । 

वार्ताका क्रममा ट्रम्पको दिमागमा एउटा कुरा रहने पक्का छ : त्यो हो नोबेल शान्ति पुरस्कार । 

फेब्रुअरी १५ मा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार भन्ने जिनिसका लागि जापानी प्रधानमन्त्री शिन्जो आबेले नामांकित गरेको भनी घमण्ड गरे । ट्रम्पले भने, ‘आबेको जापानमाथि क्षेप्यास्त्रहरू उडिरहन्थे ... अहिले चाहिँ उनीहरू राम्रो अनुभव गरिरहेका छन्, सुरक्षित अनुभव गरिरहेका छन् । मैलै त्यो स्थिति ल्याएको हुँ ।’

उनको यो टिप्पणी आएलगत्तै जापानको एक प्रमुख समाचारपत्र आसाही शिम्बुनले ह्वाइट हाउसबाटै ट्रम्पलाई पुरस्कारका लागि नामांकित गर्न अनुरोध आएको समाचार छाप्यो । 

सन् २०१८ को अप्रिल महिनामा आयोजित एक भेलामा ट्रम्पका समर्थकहरूले नोबेल नोबेल नोबेल भनी नारा लगाउँदा उनी मञ्चमा गमक्क परेका थिए । चौडा मुस्कानका साथ उनले भने, ‘गजब, गजब । धन्यवाद । गजब ।’ 

त्यसै महिना दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले ट्रम्प यो पुरस्कारका लागि हकदार भएको बताए । ट्रम्पले मूनको उक्त बयानमा प्रतिक्रिया दिँदै फेरि पनि ‘गजब’ भने । मूनले ट्रम्पको अहंकारलाई तुष्टि गराएको विश्लेषकहरूले बताए । 

फेब्रुअरी १५ मा ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाका विषयमा भने, ‘उनी उत्तर कोरियासँग युद्ध गर्थे होलान् ... अनि अहिले हामी कहाँ छौं ? कुनै क्षेप्यास्त्र छैन, कुनै रकेट छैन, कुनै आणविक परीक्षण छैन ।’ यो ट्रम्पकै कारण त भएको हो । 

अनि उनले सन् २००९ मा ओबामा नोबेल शान्ति पुरस्कारको हकदार नभइकनै पाएको बताए र आफूले निकै उपलब्धि हासिल गरेको भए पनि सम्भवतः कहिल्यै नपाउने भनी बिलौना गरे ।

ट्रम्प शान्ति पुरस्कार पाउन चाहन्छन् र शिखरवार्तामा त्यो आशाले काम गर्ने सम्भावना छ । शिखरवार्तामा ट्रम्पले नोबेलमैत्री हाउभाउ र वक्तव्य दिने तर उत्तर कोरियामा मानवअधिकार वा लोकतान्त्रिक सुधारमा जोड नदिने अपेक्षा गर्न सकिन्छ । आणविक निःशस्त्रीकरणको कुरा गर्दा उनले अघिल्लो हप्ता पत्रकारहरूलाई बताए, ‘आणविक परीक्षण नहुन्जेल मलाई निःशस्त्रीकरणको कुनै हतारो छैन ।’

त्यसो भन्नु उनका लागि सजिलो कुरा पनि हो किनकि परीक्षण नगरेपनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता नदिनका लागि खासै संकेत दिएको छैन र धेरैजनाले उत्तर पूर्ण निःशस्त्रीकरण गर्न कहिल्यै सहमत नहुने विश्वास गरेका छन् । यस अवधिमा यो संसारकै सबभन्दा दमनकारी राज्यमध्ये एकका रूपमा रहेको छ ।

यसका बावजूद उत्तर कोरियाको विषयमा एक किसिमको प्रगतिका लागि ट्रम्पले जस्तो भए पनि प्रयास गरेको भनी इतिहासले मूल्यांकन गर्न सक्छ । शिखरवार्तामा जेसुकै भए पनि उनले आफू विजयी भएको घोषणा गर्ने सम्भावना छ । जे भए पनि नोबेल शान्ति पुरस्कारमा उनको आँखा गाडिएको छ ।

क्वार्जमा प्रकाशित स्टिभ मोलम्यानको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्