
काठमाडौं — विपक्षी कार्यकर्ताहरूले सरकारी नाकाबन्दीका बीच मानवीय सहायता पु–याउँदा भेनेजुएलाका सीमावर्ती शहरहरूमा हिंसा मच्चिएको छ ।
कोलम्बियाको आप्रवासी नियोगले भेनेजुएला नेसनल गार्डका केही जवानले आफ्ना चौकीहरू छोडेको बताएका छन् ।
उता कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्ने कोशिश गरिरहेका मानिसमाथि भेनेजुएलाका सैनिक जवानले अश्रूग्यास प्रहार गरेका छन् ।
अहिलेको ताजा विवाद भेनेजुएलामा मानवीय सहायता पु–याउने विषयमा भएको हो । राष्ट्रपति निकोलस मडुरोले सहायतालाई रोक्नका लागि कोलम्बिया सीमालाई आंशिक रूपमा बन्द गरेका छन् ।
उनको सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ ।
शुक्रवार ब्राजिल सीमानजिक भेनेजुएलामा सुरक्षाकर्मीहरूको गोलीप्रहारमा परी दुईजनाको मृत्यु भएको थियो । शनिवार थप दुईजना मारिएको खबर छ ।
तर स्वघोषित अन्तरिम राष्ट्रपति हुआन गुआइडोले शनिवार लाखौं स्वयंसेवकबाट मानवीय सहायता पु–याउन सहायता गर्ने बताए । सहायतामा खानेकुरा र औषधि परेका छन् ।
गुआइडोले ट्वीट गर्दै सहायताको पहिलो खेप ब्राजिलको बाटो हुँदै भेनेजुएला पुगिसकेको बताए ।
भेनेजुएलाका दुई नेताबीच अहिले मानवीय सहायताको मुद्दा महत्त्वपूर्ण विषय बनेको छ ।
यसबीच भेनेजुएलाका मानिस सीमाका छेकवार नाघेर कोलम्बिया जाने कोशिश गरिरहेका छन् । उनीहरू सीमा पार गर्नका लागि जवानहरूसमक्ष बिन्तीभाउ गरिरहेका छन् ।
बीबीसी हिन्दीबाट