
विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय आँगनमा टाँगिएको टेन्टमा बसेर उपकुलपतिले कार्यसम्पादन गर्दै आएका छन् ।पदाधिकारी नियुक्ति विरोधमा विश्वविद्यालयका प्राध्यापकले उपकुलपति प्राडा घनश्यामलाल दास, रजिस्ट्रार प्रमिला थापा र सहरजिस्ट्रार राजेशकुमार झाको कार्यकक्षसहित प्रशासन र लेखा शाखामा पुस २९ देखि ताला लगाइएको छ ।
उक्त ताला नखुल्दा उपकुलपति दास कार्यालयको आँगनमा बसेर दैनिक प्रशासन चलाउन बाध्य छन् । ‘विश्वविद्यालयका केही पदाधिकारी र प्राध्यापकले कार्यकालको अन्तिम समयमा मलाई दिएको यो उपहार स्वीकार्य छ,’ प्राडा दासले भने, ‘म यहीँबाट बिदाइ लिन तयार छु ।’
विश्वविद्यालयले पुस अन्तिम साता समन्वय महाशाखा प्रमुख राजेश झालाई सहरजिस्ट्रार, डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्त गरेको थियो । विश्वविद्यालयले गठन गरेको वार्ता टोली र प्राध्यापकबीच पटकपटक भएको वार्ताले निचोड ननिकाल्दा ताला लगाइएको हो ।, कान्तिपुरमा खबर छ ।