०३ साउन २०८३, आइतबार

कुवेतलाई पराजित गरेपनि नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन

फागुन १५, २०७५
कुवेतलाई पराजित गरेपनि नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन

काठमाडौं- थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । 

बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । जीतका बाबजूद नेपाल ग्लोबल क्वाललिफायर्समा पुग्न भने सकेन । 

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२/१२ रन बनाए । कुवेतलाई सस्तैमा समेट्न कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिन सफल भइन् । रुबिनाले अन्तिम ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् । 

कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएकी रुविनाले पहिलो तीन बलमा एक वाईडसहित चार रन खर्चेकी थिइन् । त्यसपछिको बलमा भने रुविनाले लगातार विकेट लिइन् । यस्तै करुणा भण्डारीले तीन विकेट लिइन् । 

यसअघि टस हारेर नेपालले कुवेतलाई जीतका लागि ११७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर ११६ रन बनायो । खराब शुरुआत गरेको नेपालको लागि बिन्दु रावलले नटआउट रहँदै सर्वाधिक २८ रनको योगदान दिइन् । ४८ रन जोड्दा पाँच विकेट गुमाइसकेको नेपालको सम्मानजनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । 

त्यस्तै कप्तान रुविना क्षेत्रीले २२ रन बनाइन् । नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु वर्मा र रोमा थापाले समान सात/सात रन बनाइन् । नेपालकी ओपनर सीता रानामगर र सरिता मगर शून्य रनमा आउट भएका थिए । कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान दुई/दुई विकेट लिइन् । 

नेपालको ग्लोबल छनोट सम्भावना सकियो 

अन्तिम खेलमा कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो, तर कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल नेट रन रेटमा थाइल्याण्डसँग पछि पर्दै ग्लोबल छनोटमा पुग्न असफल भएको हो । 

नेपालले छ खेलबाट १० अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड १० अङ्क जोडेर शीर्ष स्थानमा रहँदा युएइ आठ अङ्क जोडेर तेस्रो स्थानमा छ । यस्तोमा नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्याण्ड नै बन्यो । राउण्ड रोविनको आधारमा जारी छनोटको छ खेलमा पाँच जीत निकाल्न सफल नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो । गत बिहीवार भएको दोस्रो खेलमा थाइल्याण्डसनसँग ५८ रनले पराजित भएको थियो । 

शीर्ष स्थानको थाइल्याण्डले अन्तिम खेलमा आजै युएइसँग खेल्दैछ । थाइल्याण्ड र युएइबीचको खेलले ग्लोबल छनोटमा पुग्ने टोलीको तय हुनेछ । थाइल्याण्डको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो रहेको छ । युएइलाई हराएमा १२ अङ्कसहित थाइल्याण्ड ग्लोबल छनोटमा पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्