
काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्धमानलाई रिहा गर्ने आदेश दिएका छन् । खानले यो घोषणा बिहीवार देशको संसदमा गरेका हुन् ।
अभिनन्दन पाकिस्तान प्रशासित कश्मीरमा खसेपछि के भयो भनी धेरै मानिसले उत्सुकता देखाएका छन् ।
रिहाइ हुने अवस्थामा रहेका अभिनन्दन आखिर पक्राउ नै कसरी परे ?
यस विषयमा भिम्बर जिल्लाको होर्रान गाउँका मुखिया मोहम्मद रजाक चौधरीले बीबीसीलाई प्रत्यक्ष देखेका कुरा सुनाए ।
चौधरी इमरान खानको पार्टी तहरीक ए इन्साफमा पनि जोडिएका छन् ।
चौधरीले बताएअनुसार, भिम्बर जिल्लामा नियन्त्रण रेखाबाट सात किलोमिटर पर होर्रान गाउँमा मानिसहरूले आकाशमा लडाकू विमानहरू भिडिरहेको देखे । दुई विमानमा गोली हानिएको थाहा भयो । तीमध्ये एक विमान तीव्रताका साथ नियन्त्रण रेखापारि गयो भने अर्कोमा चाहिँ आगो लाग्यो र तीव्रताका साथ खस्न थाल्यो ।
गाउँलेहरूले विमान टुक्राटुक्रा भएर झरेको अनि पाइलट चाहिँ प्याराशूटबाट सुरक्षित ओर्लिरहेको देखे ।
ती पाइलट अभिनन्दन थिए र उनीसँग पिस्तोल थियो । उनले सोधे, ‘यो भारत हो कि पाकिस्तान हो ?’
चौधरीले भने, ‘एक बाठा पाकिस्तानी केटाले यो भारत हो भने । त्यसपछि पाइलटले भारतको देशभक्तिसम्बन्धी नारा लगाए । जवाफमा गाउँलेहरूले पाकिस्तान जिन्दाबाद भनी नारा लगाए ।’
चौधरीले बीबीसीलाई बताए, ‘प्याराशूटमा भारतको झण्डा बनाइएको मैले देखें । यी भारतीय पाइलट हुन् भन्ने मैले थाहा पाइहालें । पाइलटलाई जिउँदै समात्ने मेरो उद्देश्य थियो । प्याराशूट खसेको ठाउँमा स्थानीयहरू दौडिए । पाइलटलाई यिनीहरूले हानि गर्न सक्छन् वा पाइलटले नै उनीहरूलाई हानि गर्न सक्लान् भन्ने मैले बुझें ।’
उनले भने, ‘भारतीय पाइलटले आफ्नो ढाडमा चोट लागेको बताए र पिउने पानी मागे । पाइलटले नारा लगाउँदा रिसाएका गाउँले युवकहरूले हातमा ढुंगा बोके । कुरा बुझेपछि पाइलटले युवकहरूलाई तर्साउन हावामा गोली हाने ।
अनि उनी आधा किलोमिटर परसम्म भागे । यस क्रममा उनले युवकहरूलाई पिस्तोल ताकिरहेका थिए । पाइलट अघिअघि दौडिँदा गाउँका केटाहरू पछिपछि दौडिए । उनीहरू पिस्तोलसँग डराएनन् ।’
घटनास्थलमा उपस्थित व्यक्तिहरूका अनुसार, भारतीय पाइलटले सानो पोखरीमा हाम्फाले अनि केही सामान र कागजात निकाले । उनले केही कागजात निल्न खोजे अनि केही चाहिँ पानीमा हालेर नष्ट गर्न खोजे ।
चौधरीले बताए, ‘युवकहरूले पाइलटलाई समाते । केहीले उनलाई लात्ता र मुक्का हाने । अरू मानिस चाहिँ उनीहरूलाई रोक्ने कोशिश गरिरहेका थिए । अनि पाकिस्तानी सेनाका मानिस त्यहाँ पुगे र विंग कमान्डर अभिनन्दनलाई हिरासतमा लिए र क्रुद्ध भीडलाई कुटपिट गर्नबाट रोके ।’
सेनाले हिरासतमा लिएपछि विंग कमान्डरलाई भिम्बरको सैन्य इलाकामा लगियो । पिटाइ खाएकाले उनलाई निकै चोट लागेको थियो र रगत बगिरहेको थियो ।
बीबीसी हिन्दीबाट