काठमाडौँ, ३० फागुन - हात्तिपाइले रोग नियन्त्रणका लागि ‘औषधि सेवन गराउने अभियान’ दुई चरणमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आज पत्रकार सम्मेलन गरी आगामी चैत ५, ६ र ७ गते पहिलो चरण तथा चैत १७, १८ र १९ गते दोस्रो चरणमा यो अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
यसअघि फागुन २१, २२ र २३ गते सञ्चालन गर्ने भनिएको यो अभियान प्राविधिक कारणले स्थगित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिए ।
महाशाखाले ३० जिल्लाका दुई वर्ष माथिका एक करोड आठ लाखलाई यो अभियानमार्फत हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको हो । अभियानमा १० हजार ४४९ स्वास्थ्यकर्मी र ५४ हजार ६६६ स्वास्थ्य स्वयम्सेवक परिचालन हुने निर्देशक डा. आचार्यले बताए ।
उनले दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने बताए ।
पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुर र दार्चुलामा यो अभियान सञ्चालन हुनेछ ।
त्यसैगरी दोस्रो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुने जनाएकोछ ।