२९ जेठ २०८३, शुक्रबार

कांग्रेसमा चिरैचिरा : शक्ति हत्याउने खेलमा गुट-उपगुटको अभ्यास !

फागुन २३, २०७५
कांग्रेसमा चिरैचिरा : शक्ति हत्याउने खेलमा गुट-उपगुटको अभ्यास !

काठमाडौं – गत पुसमा सम्पन्न महासमिति बैठकपछि एकढिक्का हुने ठानिएको कांग्रेसको आन्तरिक विवाद झनै बल्झिँदै गएको छ । माउ पार्टी कांग्रेसभित्र मात्र होइन, विवादको श्रृंखला भातृ संगठनहरूमा पनि उत्तिकै कायम छ ।

नेपाल विद्यार्थी संघले आफ्नो आन्तरिक विवादको शुरूवात कांग्रेसकै शीर्ष नेताको गुटबन्दीका कारण भएको मानेको छ भने ट्रेड युनियन कांग्रेस पनि शीर्ष नेताहरूसँग रुष्ट छ । केही दिनअघि मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघको तदर्थ समितिमा ३२ वर्षे उमेरहद कायम राख्ने कि नराख्ने भन्ने विषयमा विवादरत पक्षबीच ढुंगा हानाहान भयो । केही विद्यार्थी घाइते पनि भए ।  

मंगलवार ५६ जिल्लाका जिल्ला सभापतिहरूले एउटा विज्ञप्ति निकालेर नेतृत्वको कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाए । कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने/नहुने र समानुपातिकमा कति पटकसम्म अवसर पाउने भन्ने विवाद चल्दै आएको थियो ।

फागुन १२ गते कांग्रेस केन्द्रीय समिति बैठकले बहुमतबाट महासमिति बैठकमा पार्टीले प्रतिबद्धता जनाएको विषयलाई उल्ट्याएर केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कायम गर्‍यो । सभापति शेरबहादुर देउवाले सहमतिका लागि केन्द्रीय समितिको बैठक एक महिनासम्म लम्ब्याए पनि कुनै सहमति हुन सकेन । केन्द्रीय समितिको बहुमतले गरेको निर्णयका विरुद्धमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले नोट अफ डिसेन्ट लेखिसकेका छन् । 

विवादको कारण- चरम आन्तरिक गुटबन्दी

व्यक्तिगत रूपमा कांग्रेसका सबै नेता आफूले गुटबन्दी नगरेको दाबी गर्छन्, तर अरूलाई गुटबन्दीको आरोप लगाउने गरेका छन् । पार्टी स्खलित र कमजोर भएको चरम आन्तरिक गुटबन्दीका कारणले नै हो भन्नेमा दुईमत भने छैन । महासमिति बैठकको उद्घाटन सत्रमा बोल्दै कांग्रेस नेता तारानाथ रानाभाटले गनेरै ५ गुटको नाम लिएका थिए । बैठकको समापन समारोहमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूबीच इमोसनल अट्याचमेन्ट रहेको भन्दै गुटबन्दी अन्त्य गरेको संकेत दिए । त्यो भनाइ समाचारको हेडलाइन बनाउन मात्र काम लाग्यो, पार्टीलाई एकजुट बनाउन काम लागेन । 

कार्यकारी अधिकारको हिसाबले सभापतिपछि दोस्रो तहमा बसेका दुई महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का आफैंले गुटको अभ्यास गरिरहेका छन् । खड्का सभापति देउवानजिक देखिन्छन् भने शशांकले छुट्टै गुटको नेतृत्व गरिरहेका छन् । चारपटक प्रधानमन्त्री भइसकेका देउवा अझै पनि गुटको राजनीतिमा कांग्रेसभित्र सबैभन्दा शक्तिशाली मानिन्छन् ।

पाँच गुटमध्ये कसको गुट कति शक्तिशाली ?

उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काको बलियो साथ पाएका सभापति देउवाले नेतृत्व गरेको संस्थापन पक्ष नेपाली कांग्रेसभित्र सबैभन्दा शक्तिशाली गुट मानिन्छ । सह-महामन्त्री प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, एनपी साउद जस्ता प्रभावशाली नेताहरूलाई लिएर सभापति देउवाले पार्टीभित्र आफ्नो छुट्टै ध्रुव सिर्जना गरेको जस्तो देखिन्छ । सभापति देउवाले लगभग ५० जना केन्द्रीय सदस्यको साथ पाएको स्रोत बताउँछ । तर अधिकांशले पछिल्लो समयमा मुख खोल्न चाहेका छैनन् । देउवालाई साथ दिएतापनि गुटउपगुट चलाएको आरोप लाग्ने डरले नेताहरूले मुख खोल्न नसकेका हुन् । 

नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सीतादेवी यादव, रामशरण महत जस्ता नेताहरूलाई साथमा लिएर वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अर्को गुटको अभ्यास गरिरहेका छन् । रामचन्द्र पौडेल तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति हारेपछि पार्टीभित्र कमजोर बने । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि कांग्रेसमा नेतात्रय भनेर स्वर्गीय शुशील कोइराला, देउवा र पौडेललाई मानिँदै आएको थियो । 

आफू आमनिर्वाचनमा तनहुँबाट हारेपछि पौडेल पार्टीभित्र थप कमजोर बने । आफ्ना पक्षका अधिकांश नेताहरू आ-आफ्नै गुटको अभ्यासमा लागेपछि अहिले पौडेलको शक्ति क्षीण भइरहेको छ । तर आगामी महाधिवेशनमा सभापतिलाई राम्रोसँग टक्कर दिने तयारीमा पौडेल समूह रहेको उनकै समूहका कतिपय नेताहरूले बताउने गरेका छन् । यद्यपि यो समूहभित्र रहेकाहरू छुट्टै उपगुट बनाएर शक्तिको अभ्यासमा लागेका छन् । अघिल्लो महाधिवेशनमा पौडेल पक्षमा रहेका प्रभावशाली नेताहरू आ-आफ्नै उपगुटको अभ्यासमा रहँदा पौडेल पक्षमा एक दर्जन जति केन्द्रीय सदस्य मात्र बचेको देखिन्छ ।

प्रकाशमान सिंह पनि आफूलाई सभापतिको उम्मेदवार हो भन्ने सन्देश दिइरहेका छन् । आफ्नो निवास चाक्सीबारीमा पटक-पटक नेता कार्यकर्ताको भेला गराएर पार्टीभित्र आफूले छुट्टै शक्तिको अभ्यास गर्न चाहेको आशय प्रकट गरेका छन् । पौडेल समूहभित्रै रहेर छुट्टै उपगुटको नेतृत्व गरिरहेका सिंहले ताक 'परे तिवारी, नत्र गोतामे' भन्ने उखान चरितार्थ गर्न खोजेको कांग्रेस नेताहरूकै भनाइ छ । 

महासमिति बैठकपछि आफू निकट पत्रकारहरू बोलाएर काठमाडौंको एक पार्टी प्यालेसमा नेता कृष्ण सिटौला, गगन थापा र उमाकान्त चौधरीले छुट्टै गुटको अभ्यास भएको हाउभाउ देखाए । सिटौलाले वरिष्ठ नेता पौडेल र सभापति देउवालाई नेता नमान्ने घोषणा गरे । 

१३औं महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बनेका सिटौला पहिलो चरणमै बाहिरिएपछि दोस्रो चरणको निर्वाचनका लागि निर्णायक बनेका थिए । आफ्नो निर्णायक मत दिएर सभापतिमा देउवालाई जिताए । समूहको हिसाबले सिटौला समूह निकै सानो भएतापनि कतिपय अवस्थामा निर्णायक बन्ने गरेको छ । यो गुटमा गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल लगायतका नेताहरू छन् । 

कोइराला समूहको कांग्रेसभित्र त्यति प्रभाव नदेखिएपनि आगामी महाधिवेशनमा कोइराला परिवारमध्येबाट शेखर या शशांक कुनै एकले सभापति पदमा उम्मेदवार दिने लगभग पक्कापक्की भएको छ । गत भदौ ३ गते विराटनगरबाट शशांकले आफू या शेखरमध्ये एकजना सभापतिको उम्मेदवार बन्नेमा शंका छैन भनेर उद्घोष गरेका थिए । कोइरालाहरूले आफ्नो महत्त्वपूर्ण अभिव्यक्ति प्राय: विराटनगरबाटै दिने गर्छन् । यस अर्थमा शशांकले बोलेको कुराले विशेष महत्त्व राख्दछ ।

कोइराला पक्षमा शशांकका साथै शेखर, सुजाता कोइराला, कूलबहादुर गुरुङ, दिलेन्द्रप्रसाद बडू, डिला संग्रौला लगायतका नेताहरू रहेका छन् । अहिलेसम्म पार्टीको निर्णयमा कुनै निर्णायक भूमिका नखेलेको कोइराला गुटले अबको महाधिवेशनमा नेतृत्वमा आँखा लगाएको छ । व्यवहारमा ठूलो भूमिका नखेलेको यो गुटले सञ्चारमाध्यममा भने बलियो उपस्थिति दर्शाएको देखिन्छ । आगामी महाधिवेशनमा सभापति देउवाको हातबाट नेतृत्व खोस्ने दाउमा कोइराला गुट लागेको छ । 

दोस्रो जनआन्दोलनपछि कांग्रेसलाई चटक्कै छाडेर मधेशकेन्द्रित राजनीति गर्न तराई छिरेका विजयकुमार गच्छदार २०७ ४को आमनिर्वाचन अघि कांग्रेसमै फर्किए । अहिले कांग्रेसको मनोनित उपसभापति रहेका गच्छदार शक्तिको हिसाबले कमजोर छन् । अहिले उनी संस्थापन पक्षमै ढल्किएका देखिन्छन् । अहिले गच्छदार पक्ष केन्द्रीय समितिमा निकै कमजोर छ, तर तराई मधेशको ठूलो हिस्सालाई प्रभावित पार्न सक्षम छन्, गच्छदार । महाधिवेशनमा शक्ति हत्याउने खेलमा लागेका अन्य गुटहरूले गच्छदारमाथि आँखा गाडेका छन् । पद र कुर्चीको सुनिश्चितता भए गच्छदारले आफ्नो छुट्टै समूह खडा गरेर जता पनि लाग्न सक्ने हिसाबकिताब गरेर बसिरहेको स्रोतले बताउँछ । 

महाधिवेशनमा शक्ति हत्याउने खेल 

आमनिर्वाचनको झण्डै एक वर्षपछि पार्टीको नीतिगत समीक्षा गर्न जुटेका कांग्रेस नेताहरूको भेलामा सभापति शेरबहादुर देउवाले विगतमा एकता नहुँदा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताले पार्टी छाड्नुपरेको सम्झिँदै आफूले अब त्यसो हुन नदिने भन्दै कार्यकर्तालाई आश्वास्त पार्न खोजे । तर देउवाको यो भनाइ व्यवहारमा लागू भएको छैन । बरू देउवाले आगामी महाधिवेशनमा आफैंलाई एक्लो सभापतिका रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । 

पार्टीभित्र उमेरहद लागू गर्नुपर्ने आवाज उठिरहेको छ । पटक-पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई प्रजातन्त्र नै राजालाई बुझाएको आरोप पनि लाग्ने गरेको छ । पार्टीभित्र मात्रै होइन आम जनतामाझ पनि देउवाको छवि ओरालो लाग्दै छ । यस्तो अवस्थामा नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने निर्णय लिन देउवालाई श्रेयस्कर हुन्छ, तर देउवा त्यो गर्ने मनस्थितिमा छैनन् । 

१३औं महाधिवेशनमै सभापति बन्ने लालसा बोकेका वरिष्ठ नेता पौडेल अहिले सभापति देउवालाई घेराबन्दी गर्ने तयारीमा देखिन्छन् । देउवालाई घेराबन्दी गर्न साथ दिएका अन्य नेताहरूले पौडेललाई नै सर्वसम्मत नेता मान्नेमा भने शंका छ । नेता रामहरि खतिवडा भन्छन्, 'पौडेल गुटमा नेताहरूको व्यवस्थापन गर्न गाह्रो छ, अन्तिम समयमा देउवाले नै बाजी मार्न सक्ने स्थिति देखिन्छ ।' 

'पौडेल आए प्रकाशमानले के गर्ने ? प्रकाशमान आए अर्जुननरसिंहले के गर्ने ? रामशरण महतले के गर्ने ? यस्ता प्रश्नै प्रश्नले जेलिएको गुट चलाइरहनु भएको छ रामचन्द्रज्यूले,' देउवा निकट मानिने अर्का नेता प्रश्न गर्छन्, 'के पार्टीलाई बलियो बनाउने तरिका हो यो ?' 

गत मंसिरमा विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेसका तीन कोइरालालाई एउटै माला लगाइयो । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेका तीनै कोइरालालाई एउटै माला लगाएर नेतृत्वमा कोइराला आउन चाहेको सन्देश दिइयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बीपी पुत्र डा. शशांक, गिरिजापुत्री सुजाता र नोनापुत्र डा. शेखर एउटै मालामा उनिएर कांग्रेसमा कोइरालाको विरासत फर्काउन चाहेको सन्देश प्रवाहित गरे । 

गुटबन्दी गर्दै हिँडेको आरोपमा सभापति देउवाले केही साताअघि डाक्टर शेखर कोइरालालाई अनुशासनको कारवाही गर्ने धम्की दिए, तर बदलामा शेखरले कुनै प्रतिवाद गरेनन्, आफू संस्कारी नेता भएको बताए । यसबाट शक्ति हत्याउने खेलमा सभापति देउवा कोइराला परिवारबाट सशंकित छन्, भन्ने पुष्टि हुन्छ । 

कांग्रेस कमजोर हुनुका अन्य कारण 

विगतमा लामोसमय सत्तामा बसेको अनुभव बटुलेको कांग्रेस अहिले संघ र सातवटै प्रदेशमा प्रतिपक्षीको भूमिकामा छ । प्रदेश र केन्द्र सरकार दुवैमा के कस्तो भूमिका निभाउने भन्ने अलमलमा नेपाली कांग्रेस देखिन्छ । संघ प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त विपक्षी बनाउने सोच केन्द्रीय तहमा आएको छैन । सरकारले गरेका निर्णयहरूमा प्रतिपक्षी दल कांग्रेसले रचनात्मक टिप्पणी गर्न सकेको छैन । 

कांग्रेसमा भर्खरै पारित भएको विधान पनि विवादित बनेको छ । सरकारले कानून बनाएर संघीयता अभ्यास गरिरहँदासम्म नेपाली कांग्रेस संघीय संरचना अनुसार हिँड्ने विधान तयार गर्न सकेन, कारण आन्तरिक द्वन्द्व नै थियो । कांग्रेसका भातृ संगठनहरू कमजोर बनेका छन् । देउवा सभापति बनेको तीन वर्ष पुग्न लाग्यो, तर पार्टीभित्र संगठन र विभागहरू बनेका छैनन् । 

चुनावी रणनीतिक योजनामा त कांग्रेस चुक्यो नै पार्टीभित्रको आन्तरिक अवस्थालाई व्यवस्थापनमा समेत चुक्न पुगेको छ । यसमा कांग्रेसको नेतृत्व पंक्तिको नालायकीपन झल्किएको छ ।

'फेलियर लिडरसिप'ले नै बारम्बार पार्टीभित्र आफूलाई एक्लो नेतृत्व बताएपछि कांग्रेसप्रति कार्यकर्ताको भूमिका र जनताको मोह हटेको देखिन्छ ।

नेतृत्वमाथि रहेको अहम् र स्वेच्छाचारिताले कांग्रेसलाई कमजोर बनाएको हो भन्नेमा दुईमत छैन । माथि उठ्नका लागि कांग्रेसको नेतृत्व उदार हुन जरुरी छ । नेतृत्वकै कारणले क्षमतावान र बौद्धिक व्यक्ति पार्टीबाट बाहिर जाने वा निष्क्रिय हुने अवस्था आएको देखिन्छ । 

प्रमुख तर कमजोर प्रतिपक्षीका रूपमा कांग्रेसले आफ्नो मुद्दा नै पहिचान गर्न सकेजस्तो देखिएको छैन । जसरी पनि सरकारको विरोध गर्नुपर्छ भन्ने सनातनी परम्परा मात्रै धानेर कांग्रेस माथि आउन सक्दैन । संसद्‌भित्रको परिवर्तनलाई आत्मसात गरेर कांग्रेसले राष्ट्रिय राजनीतिमा भूमिका खेल्नुपर्ने कतिपय राजनीतिक विश्लेषक बताउँछन् ।

विश्लेषक श्याम श्रेष्ठ भन्छन्, 'यतिबेला रुलिङ पार्टी पपुलर छ । प्रतिपक्षी माइनोरिटीमा छ । सरकारलाई ठूलो च्यालेन्ज गर्न सक्ने अवस्था छैन ।' नेपाली कांग्रेसले सरकारको पोलिसीमा हिट गर्न सक्ने, वैकल्पिक पोलिसी दिन सक्ने वातावरण सिर्जना गर्नुपर्छ । 

salt training

कमेन्ट गर्नुहोस्