
काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका एक सदस्य अनिलकुमार झाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई भेट्नै नचाहेको आरोप लगाएका छन् । बिहीवार लोकान्तरसँग कुरा गर्दै झाले प्रधानमन्त्रीसँग भाषण गर्ने समय हुने, तर सरकारलाई समर्थन गरेको पार्टीसँग छलफल गर्ने समय नहुने भन्दै सोही कारण समर्थन फिर्ता लिनुपरेको जिकिर गरे ।
'उहाँको अनुहार हेरेर समर्थन गरिरहने हो र ?,' नेता झाले प्रश्न गरे, 'एक महिनामा प्रधानमन्त्रीलाई हामीले चारपटक भेट्ने प्रयास गर्यौं, तर उहाँ भेट्न तयार हुनुभएन । राजपामा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा धेरै दिनदेखि बहस हुँदै थियो । बुधवार कैलाली जिल्ला अदालतले माननीय रेशम चौधरीलाई जन्मकैदको फैसला गर्यो । यी र यस्तै कारणहरूले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौँ ।'
बुधवार दिउँसो जिल्ला अदालत कैलालीले साढे तीन वर्ष पहिले टीकापुरमा भएको घटनामा राजपाका सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनायो । त्यसपछि साँझ राजपाले आकस्मिक बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको थियो । जनताले चुनेको सांसदलाई आधार विनै जन्मकैदको फैसला सुनाएको झाले बताए ।
न्यायालयको फैसलालाई लिएर सरकारलाई दिएको समर्थन फिर्ता किन लिनुपर्यो भन्ने प्रश्नमा नेता झाले भने, 'न्यायालयमा को-को छ, हामीलाई थाहा छ ।'
सरकारले न्यायालयलाई प्रभावित पारेकोतर्फ इंगित गर्दै झाले भने, 'हामी अमेरिकन मान्छे हौं र ? अदालतले राजपालाई मानहानीको मुद्दा लगाउन सके लगाए हुन्छ ।'
राजपाले सरकारलाई दिएको समर्थन लिएसँगै संविधान संशोधनको मुद्दा ओझेलमा पर्ने देखिएको छ ।
'जनताले हामीलाई दुईतिहाइ नदिएकाले संविधान संशोधन गर्ने हाम्रो औकात त हुँदैन, तर हामी अभियन्ता हौँ, अभियान चलाउने हाम्रो जिम्मा हुन्छ । जहिले जनताले दुईतिहाइ दिन्छ, त्यतिबेलै संविधान संशोधन गरौंला,' उनले भने ।