
काठमाडौं – भारतको बिहारका मुसा निकै चकचके छन् । उनीहरू कहिले सरकारी रक्सी पिइदिन्छन् भने कहिले बाँधमा प्वाल पार्छन् ।
अहिले चाहिँ उनीहरूले पटनाको एक ठूलो गहनापसलबाट बहुमूल्य हीरा चोरेका छन् र गोप्य ठाउँमा लगेर लुकाएका छन् । कसैले पनि उनीहरूलाई खोज्न सकेको छैन ।
बुधवार पटनाको गहनापसलमा स्टकबाट हीरा गायब भएपछि हल्लाखल्ला मच्चियो । गहनापसलेले आफ्नै कर्मचारीमाथि शंका गरे तर सबैले आफू निर्दोष रहेको दाबी गरिरहे ।
त्यसपछि पटनाको बोरिङ रोडस्थित गहनापसलमा रहेको सीसीटीभी फूटेज हेर्दा पो मुसाहरूको कर्तूत पर्दाफास भयो ।
फूटेजमा देखिएअनुसार, पसलको एक कुनाबाट भित्र पसेका मुसाले बहुमूल्य हीरा लगे । उनीहरूले सजिलैसँग महंगा हीराका प्याकेट आफ्नो मुखमा राखेर लगे ।
हीरा चोरेपछि मुसा पसलको फल्स सीलिङमा घुस्यो अनि हीरा भेट्न सकिएन । हीराको खोज जारी रहेको गहनापसलेको भनाइ छ ।
एजेन्सी