
काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ।
पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै नियामक निकाय क्यानले हेलिकप्टरको एउटा सिट हटाउने निर्णय गरेको हो ।
यो निर्णय सेवाप्रदायक कम्पनीहरुकै सहमतिको आधारमा गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए ।
क्यानका अनुसार आजदेखि प्रत्येक हेलिकप्टरबाट एउटा सिट हटाइने छ । हाल ६ सिट क्षमता भएका हेलिकप्टरले पाइलट नजिकै हुने सिटमा समेत यात्रु राख्दै आएका थिए । अब सो सिट काटिने बताइएको छ ।
९ दिनअघि ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो । उक्त उडानमामा सात जना यात्रु बोकिएको भन्दै आलोचना समेत भएको थियो।