२४ जेठ २०८३, आइतबार

बैंक ग्यारेन्टीको आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराऊ !

फागुन २५, २०७५
बैंक ग्यारेन्टीको आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराऊ !

बुटवल- पेट्रोलियम पदार्थ बिक्रेताहरुले नेपाल आयल निगमले बैंक ग्यारेन्टीको आधारमा व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने माग गरेका छन् । व्यवसायीले साविकमा विक्री गरेको तथ्यांकका आधारमा बैंक ग्यारेन्टीबाट पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनको १५ औं वार्षिक साधारण सभामा शनिवार रुपन्देहीको मणिग्राममा बोल्दै पेट्रोलियम व्यवसायीले यस्तो माग गरेका हुन् । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने काममा आफू लागिरहेको बताएका छन् ।

कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका विकृति, विसंगतीको अन्त्य गर्दै निगमका हरेक कारोवारलाई पारदर्शी बताउने प्रतिबद्धता व्यक्त गरे । उनले आयल निगममा समस्या रहेको स्वीकार गर्दै यसको उपचार खोजिरहेको बताए । ‘निगम पनि अहिले रोगले थलिएको छ, तर निको नहुने क्यान्सर नै लागेको भने होइन,’ पौडेलले भने, ‘निगमलाई लुतो रोग लागेकाले यसको उपचार संभव छ र प्रयास भइरहेको छ ।' 

उनले निगमका गतिविधिलाई प्रभावकारी बनाउने योजना पनि आफूले अगाडि सारेको उल्लेख गरे । निगमको सुधारको लागि शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । मुलुकलाई परी आउने समस्या समाधान गर्न र पेट्रोलियम पदार्थको बढ्दो मागलाई व्यवस्थापन गर्न भण्डारण क्षमता वृद्धि अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए ।

भण्डारण क्षमता वृद्धिका लागि नेपाल आयल निगमले दुई वर्षदेखि माग मूल्यांकन गरी ७ वटै प्रदेशमा ९० दिनको भण्डारणका लागि पूर्वाधार विकासको काम सुरु गरेकोमा पूर्वाधार विकासका लागि किनिएको जग्गामा अनियमितता भएको पाइएपछि यो कामले गति लिन नसकेको उनको भनाई छ ।

उनले अहिले भारतसँग मात्रै ६८ प्रतिशत व्यापार रहेकोमा १३ प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको उल्लेख गर्दै पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि पेट्रोलियम पदार्थको आयात प्रतिष्थापन गर्नैपर्ने बताए । ‘अव विद्युतीय सवारी साधनको प्रयोगमा जानुपर्छ, यसका लागि हरेक पेट्रोलियम डिलर्सले आ–आफ्नो क्षेत्रमा चार्जिङ स्टेशन राख्नुपर्छ’ उनले भने । उनले पेट्रोलियम पदार्थमा गरिएको लकिङ प्रणालीलाई साझा अभियानका रुपमा अघि बढाउन व्यवसायीलाई आग्रह गर्दै डिपोदेखि डिलर्स सम्मको लकिङ प्रणाली पनि व्यवसायीले अपनाउँछन् भने निगम बजेट दिन तयार रहेको बताए ।

कार्यकारी निर्देशक पौडेलले भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजका लागि पेट्रोलियम पदार्थ फिलिङका लागि स्थान नै व्यवस्थापन नगरिएकोले त्यसतर्फ गम्भीर बन्न जरुरी रहेको बताए  ।

विमानस्थल बन्दा नै ख्याल गरिएन भने संचालनका क्रममा विकराल समस्या पर्ने उनले बताए । कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरे । पेट्रोलियम व्यवसाय सेवामूलक व्यवसाय भएकाले लागत अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै उहाँले व्यवसायीका समस्या समाधानमा निगमको ध्यानाकर्षण गराए  ।

salt training

कमेन्ट गर्नुहोस्