
चितवन । राप्रपा (संयुक्त) ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति प्रश्न उठाएको छ । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबराले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह नगरेको र दलगत आग्रहबाट प्रभावित भएको आरोप लगाएका हुन् ।
‘राष्ट्र प्रमुखले कुनै पक्ष लिन पाइन्न । दशैंमा टिका लगाउँदा नागरिकलाई घुँडा टेकाउन पाइन्न । दल विशेष प्राथमिकता दिन पाइन्न । बहुदलीय प्रजातन्त्रमा राष्ट्रपति निष्पक्ष नरहेको कारण राष्ट्र प्रमुखका लागि, त्यही पुरानो संस्था, राजसंस्थामा फर्काउनु पर्छ भन्ने हामीलाई लागेको छ,’ पार्टी जिल्ला कार्यसमितिले चितवनमा आयोजना गरेको कार्यक्रममा शनिबार अध्यक्ष राणाले भने ।
राप्रपा (संयुक्त) ले सनातन हिन्दु राष्ट्रको लागि सडक तताउने पनि अध्यक्ष राणाले घोषणा गरे । हिन्दु राष्ट्रको आन्दोलनका लागि वडा तहसम्म संगठन दुरुस्त राखेर तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार पाँच हजार वर्षको सभ्यता मास्न लागी परेको आरोप लगाए ।
‘नेकपा सरकार, प्रधानमन्त्रीलाई होली वाइन खान फुर्सद छ तर अश्वमेघ यज्ञमा सहभागी हुन प्रधानमन्त्री, राष्ट्रपति कसैलाई फुर्सद भएन । गरिवी र अशिक्षाको आडमा धर्म निरेपक्षको शासनकालमा धर्म परिवर्तन गरेर नेपाली सभ्यता, हिन्दु, बौद्ध सभ्यता मास्ने क्रम जारी छ । यसमा वर्तमान सरकारले नेतृत्व गरेको छ,’ डा. लोहनीले भने ।
हिन्दु राष्ट्रको पहिचान पूर्नस्थापनाको आवश्यकतामा सबै धर्मको सम्मान कायम रहने, कुनै धर्मको अवमूल्यन नहुने लोहनीले स्पष्ट पारे ।