
बुटवल- नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल देवदह नगर समितिका सदस्य अनिस पुरीको हत्याप्रति नेपाली कांग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीले सोमवार प्रेस विज्ञप्ति जारी गरी हत्या जस्तो जघन्य अपराधले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै हत्यामा संलग्न भएका व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेको हो ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा राजनीतिक तथा सामाजिक रूपमा सक्रिय युवालाई योजनाबद्ध तरिकाले गरिएको हत्याबाट सिंगो पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।
देवदह नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरीको आइवार राति देवदहको भलुहीमा ढुंगा तथा लाठी प्रहार गरी हत्या भएको थियो ।
पूर्व-पश्चिम राजमार्गमा सम्साँझै व्यक्तिमाथि आक्रमण हुनले सरकारको सुरक्षा प्रबन्ध कस्तो छ भन्ने प्रष्ट पारेको उल्लेख गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै समग्र सुरक्षा प्रबन्ध चुस्त बताउनसमेत माग गरिएको छ ।
देवदहमा विगतदेखि नै हत्याका श्रृखंला भइरहे पनि सरकारले प्रभावकारी सुरक्षा प्रबन्ध गर्न नसकेको ठहर गर्दै यस घटनामा समेत सरकारले प्रभावकारी कदम नउठाए नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिइएको छ । त्यस्तै विज्ञप्तिमार्फत शोक सन्तप्त पुरीको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
नेपाल तरुण दलले पनि तरुण दल नगर समिति सदस्य पुरीको हत्याप्रति गम्भीर ध्यानाकषण भएको उल्लेख गरेको छ । नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ र सचिव रमेश शाहीले सोमवार नै संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्रीसहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसिरहँदा घटना हुनुले धेरै खालका आशंकाहरू पैदा गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा राजमार्ग क्षेत्रमै भएको यो घटनाले गृहमन्त्री रामबहादुर थापाको ‘देशमा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त छ’ भन्ने भनाइलाई हाँस्यास्पद बनाइदिएको उल्लेख गर्दै घटनाले तरुण युवालाई आक्रोशित बनाएको र २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया शुरू नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । त्यस्तै विज्ञप्तिमा शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
विज्ञप्ति :
