रुपन्देही– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व निर्णय भएको टिप्पणी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले पृथकतावादी गतिविधि गरेको समूहलाई सहमतिमा ल्याउनु राम्रो भए पनि यसले अनेक आशङ्का पैदा गरेको बताउनुभयो । “ सहमतिमा कालान्तरमा जनमत सङ्ग्रहको कुरा आएको छ, राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह मान्य हँुदैन ।” नेता पौडेलले सहमति पछि विभिन्न कुरा आएकोले सरकारले छिटो शङ्काको निवारण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिके राउतले जनमत सङ्ग्रहका लागि सरकार तयार रहेको भन्दै हिँडेका छन्, यो आपत्तिजनक छ ।”
सहमतिले फसाउने आशङ्का
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमतिले देशलाई दुर्घटनामा फसाउने दाबी गर्नुभएको छ ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल आउनुभएका थापाले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सिके राउतलाई कारवाही गर्नुको साटो सहमति गरेर सरकारले विखण्डनलाई बढावा दिएको आरोप लगाउनुभयो । देशको शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने, धार्मिक स्वतन्त्रतासहितको सर्वधर्मसापेक्ष हिन्दू राष्ट्रको पुनःस्थापना तथा सबै शक्ति अटाउने संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको स्थापनाको लागि मेची–महाकाली अभियानको थालनी गरिएको बताउनुभयो । फागुन १५ गते ताप्लेजुङ्गबाट शुरु भएको स्वाभिमान यात्रा पाँचथर, इलाम, झापा, मकवानपुर, चितवन, नवलपरासी, नेपालगञ्ज, कञ्चनपुरसम्म हुँदै बुटवल आइपुगेको छ ।