काठमाडौं - राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती)ले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा गएराति भएको बम विस्फोटबाट क्षति पुगेकाले तत्काल वैकल्पिक कार्यालयको व्यवस्थापन गरी सेवाप्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेकी छन् ।
बुधवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद् रावलले भनिन्- 'वडा कार्यालयबाट हुने दैनिक काम कारवाही नरोकिने गरी निर्विवाद दैनिक कार्य सञ्चालनका लागि वैकल्पिक वडा कार्यलयको व्यवस्था मिलाउन जोडदार माग गर्दछु ।'
वडा कार्यालयमा गएराति गराइएको शक्तिशाली सिलिण्डर बम विस्फोटको घटनाको घोर भर्त्सना गर्दै उनले जनता त्रसित बनेको बताइन् ।
घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको भन्दै उनले दोषी पत्ता लगाई सार्वजिनक गर्न र कडाभन्दा कडा कारवाही गर्न माग समेत गरिन् ।