
काठमाडौं – रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा फागुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम बुधवार समापन भएको छ ।
स्टाफ कलेजमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच अन्तिम प्रवचन गरेर तालिमको समापन गरेका छन् ।
समापन समारोहमा मन्तव्य राख्दै रक्षामन्त्री पोखरेलले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने र राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामिलामा अन्तर्विरोधी दृष्टिकोणलाई हटाई साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुने बताए ।
कार्यक्रमको शुरूआतमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत र
अन्य सुरक्षा निकायका अधिकृत गरी जम्मा २४ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
समापन समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा निकायका विशिष्ट व्यक्ति, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञ, बुद्धिजीवी, सञ्चारकर्मी एवं सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो ।