
जनकपुरधाम– पूर्वराजा ज्ञानेन्द्र शाहको ५ दिने मधेस भ्रमण सुरु भएको छ । भ्रमणको सिलसिलामा शाह बुधबार साँझ जनकपुर आइपुगेका छन् । झापाबाट गाडीमा शाह जनकपुर आइपुग्दा राजावादीले भव्य स्वागत गरेका थिए । समर्थकहरुले राजा आउ देश बचाउन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।
शाह आज जनकपुर स्थित सिताशरण होटेलमा बास बस्नेछन् । सिके राउतलाई सरकारले मुलधारमा ल्याएको र मधेसको प्रमुख दल राजपा सरकारसँग असन्तुष्ट बनेको अवस्थामा पूर्वराजाबाट भएको मधेस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
चैत ३ गतेसम्मको भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् । भ्रमणका क्रममा उनले समर्थकसँग भलाकुसारी, मन्दीरहरुको दर्शन र केही राजनीतिक भेटवार्ता समेत गर्ने बुझिएको छ ।