
काठमाडौं, १ चैत - स्थानीय विकास मन्त्रालयले नयाँ कायम भएका स्थानीय तहमा नयाँ कर्मचारी व्यवस्थापन गर्न अझै केही दिन लाग्ने जनाएको छ । हरेक जिल्लाका स्थानीय विकास अधिकारीले निमित्त कार्यकारी अधिकृत तोकिसकेको भएपनि मन्त्रालयले पठाउने फुल पोजिसन कर्मचारीको लागि चाहिँ अझै केही दिन लाग्ने भएको हो ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी मगाउने र स्थानीयमै भएका कर्मचारीको व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए ।
उनका अनुसार देशभरका गाउँपालिकाको लागि सुब्बा सरहका कर्मचारीलाई निमित्त प्रमुखको रुपमा जिम्मेवारी दिइएको छ ।
२ सय १७ नगरपालिकामा कार्यकारी अधिकृतहरू यस अघिदेखिनै रहेकोले नगरपालिकाहरूमा समस्या छैन । बाँकी नगरपालिकामा चाहिँ आजैदेखिनै अधिकृतलाई कार्यकारी प्रमुखको रुपमा खटाइएको उनले बताए ।
तर नगरपालिकामा उप सचिव स्तरको कर्मचारी खटाउने नियम भएकोले नगरपालिकाहरुमा उप सचिव खटाउन पनि केही समय लाग्ने छ ।
हाललाई २ सय १७ नगरपालिका बाहेकका पाँच सय २७ वटा अरु युनिटमा कर्मचारी व्यवस्थापन भइरहेको उनले बताए । एक दूई दिन भित्रैमा नयाँ कर्मचारी व्यस्थापन गर्ने गरि मन्त्रालयले काम गरिरहेको उनले बताए ।
देशभरका ७ सय ४४ वटा स्थानीय निकाले काम थालेका छन् । चार महानगरपालिका, १३ उपपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकाले काम थालेका छन् ।
यस अघि एउटा मात्रै महानगरपालिका भएपनि अब चाहिँ महानगरपालिकाको संख्या चार पुगेको छ । ललितपुर महानगरपालिका, पोखरला लेखनाथ महानगरपालिका र चितवनमा भरतपुर महानगरपालिका बनेका हुन् ।
महानगरपालिकामा सह सचिव कार्यालय प्रमुख रहनेछन भने उपमहानगरपालिका र नगरपालिकामा उप सचिव कार्यालय प्रमुख रहने छन् ।