काठमाडौं -सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव समूह राजनीतिक मूलधारमा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका छन् ।
गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजिनक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मूलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका हुन् ।
'हामीले रातो कार्पेट ओछ्याएरै, दश औंला जोडेर बिन्ती गर्छौं, आउनुस्,' बाँस्कोटाले भने, 'तर जहाँसम्म उहाँहरूको कुरा हेर्दा, सुन्दा जे अडान छ, त्यो बुझ्दा उहाँहरू त्यसरी (विध्वंसात्मक गतिविधि)मा जान खोज्नुभएको हो भने राज्यले आफ्नो दायित्व पूरा गर्छ ।'
सरकारले आपराधिक गतिविधिलाई हेरेर नबस्ने उनको भनाइ छ । 'विप्लव समूहले निर्वाचनताका पनि यस्तै गतिविधि गरिरहेको थियो, तर हामी संविधान र यसको कार्यान्वयनका लागि दृढ र प्रतिवद्ध थियौं,' बाँस्कोटाले भने, 'त्यतिबेला यस्ता गतिविधितर्फ ध्यान दिएनौं, तर सधैँ यस्तो हुन त भएन नि !'
अहिले पनि विप्लव समूह मूलधारमा आउने हो भने कुनै समस्या नरहेको उनको भनाइ छ ।