
काठमाडौं, १ चैत — उत्तर कोरियाले मंगलवार अमेरिकामाथि दयामाया नराखिकन आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासका क्रममा उडाएका कार्ल भिन्सन विमान आफ्नो भूमिमा आइपुगेमा त्यसको भयावह परिणाम निस्कने उत्तरले चेतावनी दिएको हो ।
गत वर्षदेखि दुईवटा आणविक परीक्षण र अनेकौं क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले आफ्ना छिमेकीहरूलाई तर्साएको छ । अमेरिकाको एयरक्राफ्ट क्यारियर स्ट्राइकको उपस्थिति आफूमाथि आक्रमण गर्ने नियतले आएको उत्तर कोरियाको आरोप छ ।
‘उनीहरूले उत्तर कोरियाको सार्वभौमसत्ता र गरिमामाथि अलिकति मात्र भएपनि अतिक्रमण गरे भने हाम्रो सेनाले उनीहरूमाथि दयामाया नराखिकन जल, स्थल र आकाशबाट आक्रमण गर्नेछ,’ उत्तरको सरकारी समाचार संस्था केसीएनएले बतायो ।
अमेरिकी जलसेनाका प्रवक्ताले कार्ल भिन्सन नामक विमानले उक्त क्षेत्रमा नियमित उडान गर्ने र दक्षिण कोरियासँग सैन्य अभ्यास गर्ने बताए ।
सीएनबीसीबाट