
धनगढी- कैलालीको धनगढीमा १८ विधामा 'बिन्दास म्युजिक अवार्ड' वितरण हुँदैछ । गत वर्षमा झैं घोडाघोडी मिडिया सञ्चार समुह (बिन्दास मिडिया) ले चैत २ र ३ गते छनोट कार्यक्रम तथा कन्सर्ट आयोजना गरी १८ विधामा राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड वितरण गर्ने भएको छ ।
शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक हरेन्द्र चौधरीले थारु चलचित्र, म्युजिक भिडियो, तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
उनका अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष), आधुनिक गायन (महिला), लोक गीत गायन (पुरुष), लोक गीत गायन (महिला), सर्वोत्कृष्ट पप गायन (पुरुष), पप गायन (महिला), फिल्म स्कृप्ट लेखक, गीतकार, फिल्म निर्देशक, म्युजिक भिडियो निर्देशक, छाँयाकार, दृश्य सम्पादन, नव प्रतिभा (पुरुष), नव प्रतिभा (महिला), गीत २०७५। मोडल (पुरुष), मोडल (महिला) र युगल मोडललाई सो अवाडी वितरण गरिने छ ।
अवार्डको लागि ४८ जना प्रतियोगी रहेको कार्यक्रममा छनौटको लागि ४० प्रतिशत भोटिङ, १० प्रतिशत आयोजक र ५० प्रतिशत जिर्णायक मण्डल (जुरी मेम्बर)बाट छनौटको लागि मापदण्ड बनाइएको जनाइएको छ । छनौट कार्यक्रमको अवसरमा आयोजना हुने कन्सर्टमा नेपाल आईडल सिजन २ का बिजेता रवि ओडको प्रस्तुती रहनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।