
काठमाडौं – पाकिस्तानको बलोचिस्तानस्थित डेरा मुराद जमाली क्षेत्रमा एक यात्रुवाहक ट्रेनमा विस्फोट गराइँदा चारजना मारिएका छन् ।
मर्नेमा एक महिला र उनकी छोरी पनि छन् । अन्य ६ जना घाइते भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी अधिकारी इरफान बशिरले जफर एक्सप्रेस ट्रेनलाई तारो बनाएर रेलवे ट्य्राकमा विस्फोटक पदार्थ पड्काइएको बताए ।
यात्रुवाहक ट्रेन उक्त क्षेत्रमा पुग्दा ठूलो विस्फोट भएको उनले बताए । विस्फोटका कारण ट्य्राकको ठूलो भाग क्षतिग्रस्त भएको छ ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ ।
घटनास्थलमा प्रहरी तथा अन्य अधिकारीहरू पुगेर अनुसन्धान गरिरहेका छन् ।
बलोचिस्तानका मुख्यमन्त्री जाम कमाल खान अल्यानीले घटनाको कडा भर्त्सना गर्दै अपराधमा संलग्नलाई न्यायको कठघरामा उभ्याइने बताएका छन् ।
डन डट्कमबाट