काठमाडौं, २ चैत– मंगलबार साँझ नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम)को विमानबाट एकाएक हवाई इन्धन लिक हुन (चुहिन) पुगेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हंगामा भएको छ ।
मंगलबार साँझ काठमाडौंबाट हङकङ उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको बोइङ ३२० जहाजबाट इन्धन लिक हुन पुगेपछि हंगामा भएको हो ।

विमान उड्न तयारी अवस्थामै रहेको बेला इन्धन चुहिन थालेको विमानस्थलका एक कर्मचारीले बताए ।
ती कर्मचारीले लोकान्तरलाई बताएअनुसार साँझ सवा ७ बजेतिर एकाएक विमानबाट तेल चुहिएसँगै हुनसक्ने सम्भावित आगलागीलाई मध्यनजर गर्दै दमकलले घेरिएको थियो भने अरु नजिक रहेका विमानहरुलाई पार्किङबाट पर सारिएको थियो ।
विमानस्थलको पार्किङ क्षेत्रमा काम गर्ने ति कर्मचारीका अनुसार अवस्थालाई साम्य पार्न लगभग एक घण्टा लागेको थियो ।
उनले भने, ‘म डिउटी मै, सवा सात बजेतिर एकाएक हल्लीखल्ली मच्चियो, एकै छिनमा दमकलले विमान घेरियो । पछि बुझ्दा हवाई इन्धन लिक भएको रहेछ ।’
उनले इन्धन चुहिएपनि बेलैमा अवस्थालाई नियन्त्रणमा लिइएकाले ठूलो दूर्घटना टरेको उनले बताए ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमानबाट इन्धन चुहिएको बेलैमा थाहा हुँदा भयानक दुुर्घटना रोक्न सकिएको प्रतिक्रिया दिए ।
निगम स्रोतका अनुसार इन्धन लिक भएको केहि ढिला गरीमात्रै थाहा भएको भए ठूलो क्षति हुन सक्थ्यो ।
इन्धन चुहिएको थाहा पाइएसँगै केहि समय विमानस्थल बन्द गरेर अवस्थालाई सामान्य बनाउने प्रयास गरिएको थियो ।
नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले कसरी जहाजबाट इन्धन चुहियो भन्नेबारे अहिले नै केहि बन्न नसकिने भन्दै उनले यसबारे अनुसन्धान सुरु भैसकेको लोकान्तरलाई बताए ।
उनले भने , ‘जहाजबाट कसरी इन्धन चुहियो अहिले नै भन्न सकिने अवस्था छैन, निगम अहिले अनुसन्धानकै क्रममा रहेको छ ।’
उनले इन्धन चुहिएपनि समयमै स्थितिलाई नियन्त्रणमा लिन सकिँदा ठूलो घटनाबाट भने बचिएको बताए ।