
काठमाडौं – दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मे महिनामा हुन लागेको आमनिर्वाचनअघि सामान्य व्यक्ति झैं ट्रेन यात्रा गरेका छन् ।
तर उनी र अन्य यात्रु चढेको ट्रेन घन्टौंसम्म जाममा परेको थियो । जम्मा ४५ मिनेटको यात्रा पूरा गर्न उनलाई घन्टौं लागेको थियो ।
‘यो अस्वीकार्य छ,’ राष्ट्रपति रामाफोसाले ट्रेन आफ्नो गन्तव्यमा पुगेपछि भने ।
राष्ट्रिय रेल सञ्चालक प्यासेन्जर रेल एजेन्सी अफ साउथ अफ्रिका (प्रासा) ले परिस्थिति सुधार्नुपर्ने अन्यथा त्यसको परिणाम भोग्नुपर्ने उनले बताए ।
दक्षिण अफ्रिकाका लाखौं रेलयात्रुले दिनदिनै ढिलाइका कारण तनाव सहनुपरिरहेको छ । कार्यालय ढिलो पुग्दा केहीले जागिर गुमाउनुपरेको छ ।
रिसाएका यात्रुहरूले ट्रेनमा आगो लगाएका घटना पनि हुने गरेको छ ।
राष्ट्रपतिले गाउटेङ प्रान्तमा ट्रेन चढेका थिए र अर्को ट्रेनका चालकलाई ढुंगा हानिएकाले ट्रेन रोकिँदा विलम्ब हुन गएको प्रासाका प्रवक्ताले बताए ।
केही बदमासले रेल संरचनामा लगातार आक्रमण गरिरहेको भनी उनले दोष थोपरे ।
ट्रेन यात्रा ढिलो हुनुअघि राष्ट्रपति रामाफोसाले मुस्कान दिएको तस्वीर सार्वजनिक भएको थियो ।
बीबीसीबाट