१० असार २०८३, बुधबार

नेपाली भूमिमा भारतको आधिपत्य अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न ग्रेटर नेपालको आह्वान

नेपाली भूमिमा भारतको आधिपत्य अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न ग्रेटर नेपालको आह्वान

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाली भूमिमाथिको भारतीय उपनिवेश अन्त्य गर्न अन्तर्राष्ट्रिय जगतलाई  खुलेर सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीवार नेपाली समयअनुसार साँझ ६:०० बजे संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् भवनको कोठा नं. २७ मा आयोजित  `२०३० एजेन्डा र मानवअधिकार´ शीर्षकको एक अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

हिजोको उक्त कार्यक्रममा पहिलो वक्ताका रूपमा बोल्दै मोर्चाका अध्यक्ष नेपालले ग्रेटर नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम र वर्तमान नेपालको १३ सय वर्ग किलोमिटर जमिनमा अतिक्रमण गरेर भारतले एकातिर संयुक्त राष्ट्रसंघको उपनिवेश अन्त्य गर्ने सम्बन्धमा पारित प्रस्ताव नं. १५१४ को खुल्लमखुल्ला अपहेलना गरेको अनि अर्कोतिर स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशको सैनिक बलमा कब्जा गरेर स्वतन्त्रता , मानवअधिकार र प्रजातन्त्रका आदर्शको स्पष्ट रूपमा उपहास गरेको बताए ।

उनले विश्वका सरकारहरूले राष्ट्रिय योजना प्रक्रियामार्फत सन् २०३० भित्रमा दिगो विकासको उद्देश्य र लक्ष्य प्राप्त गर्ने भने पनि साना राष्ट्रहरूको जमिनमा उपनिवेश कायम गर्ने, तिनका प्राकृतिक स्रोतमाथि कब्जा जमाउने र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गलत प्रवृत्ति रोक्न नसके यो केवल नारामा सीमित हुने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् भित्र `साइड इभेन्ट´ भनिने यस किसिमका कार्यक्रम मानवअधिकार परिषद्मा भाग लिन पुगेका नागरिक समाजका प्रतिनिधिहरूबाटै आयोजित हुने गर्छन् ।

उक्त कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अतिरिक्त पश्चिमी सहाराका नजला मोहमद लमजन र हसन मुईद अली, त्रिपुराकी सुश्री पाताल कन्या जमातजा र श्रीलंकाका राजा रेमिगुस कनागराजा लगायतका मानवअधिकार प्रतिरक्षकहरूले आफ्नो समुदायको मानवअधिकार हननका बारेमा प्रश्न उठाएका थिए ।

कार्यक्रम सञ्चालन भारतको `मानवअधिकार सचेतक´ नामक संस्थाका सभापति बब्लु लोइतोङबमले गरेका थिए ।

उनले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको भारतीय उपनिवेशको अन्त्य सम्बन्धी आग्रह र पश्चिमी सहाराले मोरक्कोको उपनिवेशबाट मुक्ति खोजेको कुरालाई अन्तर्राष्ट्रिय जगत्ले गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्