काठमाडौं- यही चैत २२ चैतदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’को तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले अनाथ बालबालिकाको अध्ययनमा सहयोग गरेका छन् । उनिहरुले ४५ जना अनाथ बालबालिकालाई निजी विद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका हुन् ।
काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही वैशाखबाट विद्यालय भर्ना सहित तीन महिनाको लागि शुल्क वापतको एकमुष्ट रकम शनिबार बिहान प्रदान गरिएको हो ।
अभिनेता प्रदीप र प्रस्तुतकर्ता गोविन्दले शनिबार बिहान सो अपाङ्ग आवाज केन्द्रमा पुगेर विद्यार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।
सो अवसरमा अभिनेता प्रदीपले भने,–‘कलाकारको दायित्व भनेको अभिनयमात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका ब्यक्तिहरुले विद्यार्थीहरुको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यो काम गरेका हौं ।’
बाँकी सहयोगबारे प्रदीपले भने, –‘अहिले फिल्म ‘लभ स्टेशन’को तर्फबाट हामीले यो सहयोग गरेको हौं । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्नेछौं । अरुबाट पनि सहयोग मिल्ने आशा लिएका छौं ।’
‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्दले विगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै फिल्मको तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विद्यार्थीको भर्ना सहित तीन महिनाको पढाई खर्च व्यहोरेको बताए ।
करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि आफूहरुले एक लाख रुपैयाँ ‘लभ स्टेशन’को तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए । सो अपाङ्ग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यबाद प्रदान गर्दै यस्तो सहयोगको आशा अरुसँग पनि गरिएको बताए ।
गत हप्ता अभिनेता प्रदीप खड्काको जन्म दिन मनाईएको भए पनि उनका प्रशंसक ‘प्रदीप खड्का फ्यान परिवार’ले सोही कार्यक्रममा केक काटेर फेरी अभिनेता खड्काको जन्मदिन मनाए ।
फिल्म ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा अभिनता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । फिल्मलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो फिलको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।