०१ असार २०८३, सोमबार

राजनीमाको दबाब परेपछि प्रधानमन्त्री मेलाई दुई मन्त्रीको समर्थन

राजनीमाको दबाब परेपछि प्रधानमन्त्री मेलाई दुई मन्त्रीको समर्थन

काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेको ठाउँमा कामचलाउ प्रम ल्याइने चर्चा चलेका दुई मन्त्रीले उनलाई पूर्ण समर्थन जनाएको बताएका छन् । 

वातावरणमन्त्री माइकल गोभले पत्रकारहरूलाई बताए, ‘अहिले जहाजको कप्तान बदल्ने बेला हैन’ । 

अनि उपप्रधानमन्त्री डेभिड लिडिङटनले आफू मेको शतप्रतिशत समर्थनमा रहेको बताए । 

उता ब्रेक्जिट मन्त्रीले सरकारको भन्दा फरक ब्रेक्जिट विकल्पमा सांसदहरूले यसै हप्ता मतदान गरेमा आमनिर्वाचनको सम्भावना रहेको बताए । 

प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौताका सम्भाव्य विकल्पमाथि कथित संकेतात्मक मतको शृंखला चलाउनका लागि सांसदहरूले अवसर पाउने अपेक्षा छ । 

ब्रेक्जिट मन्त्रीले टोरी (सत्तारूढ कन्जर्भेटिभ) दलका सांसद र मन्त्रीहरूसँग चेकर्स अर्थात् प्रधानमन्त्री निवासमा आइतवार भेटघाट गरेका थिए । 

ब्रेक्जिट पक्षधर प्रमुख नेताहरू गोभ, बोरिस जोनसन र जेकब रीस–मोग पनि उक्त भेटघाटमा सहभागी थिए । 

उनीहरूले विभिन्न विषयका अलावा प्रधानमन्त्रीको सम्झौतामाथि संसदमा मतदानका लागि पर्याप्त समर्थन रहे नरहेको विषयमा पनि कुरा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताए । 

पत्रिकाहरूले चाहिँ मन्त्रीहरूले प्रधानमन्त्रीविरुद्ध कू गर्न लागेको र उनलाई हटाएर यसै वर्षको अन्त्यसम्म नेतृत्वको निर्वाचन हुनुअघि एक कामचलाउ नेता ल्याउन खोजेको दाबी गरेका छन् । 

टोरीका सांसदहरूले मे युरोपेली संघसँगको अर्को चरणको वार्ताका बेलामा सक्रिय नहुने शर्तमा मन नलागिकन भए पनि उनको ब्रेक्जिट सम्झौतालाई समर्थन गर्न तयार भएको संकेत पाइएको छ । तर उनको साटो कसलाई प्रधानमन्त्री बनाउन चाहेको हो त्यो प्रस्ट हुन सकेको छैन । 

द सन्डे टाइम्सले लिडिङटनलाई प्रधानमन्त्री बनाउन लागिएको लेखेको छ भने द डेली मेलको मेल अन सन्डेले ब्रेक्जिट पक्षधर वातावरणमन्त्री गोभको नाममा सर्वसम्मति जुटेको लेखेको छ । 

प्रधानमन्त्री मेलाई धारा ५० लम्ब्याउनका लागि युरोपेली संघसँग अनुरोध गर्न बाध्य बनाइएपछि उनको राजीनामा आउनुपर्ने भन्दै दबाब बढेको छ । ब्रेक्जिटमा भइरहेको ढिलाइको दोष उनले सांसदहरूमाथि लगाएकी छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्