
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमित जग्गा खाली गराएर शिव मन्दिर बनाउने भएको छ ।
नगरपालिकास्थित शिवको नामले परिचित शिवनगरको अतिक्रमित क्षेत्र खाली गराएर भव्य मन्दिर बनाउने तयारी थालिएको हो ।
नगरपालिकाको वडा नं १ र ८ को बीचमा पर्ने पूलको उत्तर पूर्वमा फोहोर हटाउने क्रमममा झण्डै ५ कठ्ठा जमिन अतिक्रमण भएको फेला पारेको थियो । सोही जमिनमा अब मन्दिर निर्माण गरिन लागेको हो ।
नगर प्रमुख नृपबहादुर वडले मन्दिर निर्माणको लागि डीपीआर तयार गर्न प्राविधिकहरूलाई निर्देशन दिएको बताए । त्यहाँस्थित पुरानो शिव मन्दिर सडक बिस्तारको क्रममा भत्किने भएपछि विकल्प खोजिएको पनि नगरप्रमुख वडको भनाइ छ ।
धनगढी उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण बरालले व्यवस्थित मन्दिर निर्माणका लागि समितिसमेत गठन गरिएको बताए । बरालका अनुसार मन्दिर निर्माण तथा व्यवस्थापनका लागि जयबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा दिनेश बम, सचिवमा प्रेमबहादुर सिंह, कोषाध्यक्षमा ईश्वरी कठायत चयन भएका छन् ।
सदस्यहरूमा कृष्णबहादुर कार्की, प्रेम कटुवाल, निर्मल चौधरी, बागेश्वरी चटौत बिनाडी, शेरबहादुर चन्द, महादेव जोशी र धिरबहादुर थापा रहेका छन् । मन्दिर निर्माण तथा व्यवस्थापन समितिले संरक्षकमा नगरप्रमुख नृपबहादुर वड, मन्दिरका पुजारी रामचन्द्र बिनाडीलाई राखेको छ ।