
काठमाडौं – बेलायती सांसद तथा युरोपेली अनुसन्धान समूहका अध्यक्ष जेकब रीस–मोगले प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिट सम्झौतालाई सांसदहरूले नमानेमा ब्रेक्जिट नै नहुने बताएका छन् ।
उनको यो भनाइ महत्त्वपूर्ण छ किनकि युरोपेली अनुसन्धान समूह कठोर ब्रेक्जिट अर्थात् कुनै पनि सम्झौताविनाको स्पष्ट ब्रेक्जिट पक्षधर हो । यो समूहले कन्जर्भेटिभ पार्टीभित्र टेरिजा मेको सम्झौताको विरोध गर्दै आइरहेको छ ।
रीस–मोगले प्रधानमन्त्रीको सम्झौता युरोपेली संघमै रहने विकल्पभन्दा पक्कै पनि खराब नभएको बताएका छन् । प्रधानमन्त्रीले सम्झौतारहित ब्रेक्जिट नगराउने उनले बताए ।
त्यसको अर्थ सम्झौता हुने वा ब्रेक्जिट नहुने विकल्प हो त भन्ने प्रश्नमा उनले भने, ‘अन्त्यमा त्यही विकल्प त बाँकी रहन्छ होला नि । हामीहरू त्यो विकल्पमा पुगेको हौं कि होइनौं भन्ने बेग्लै कुरा हो तर मैले जहिले पनि मेको सम्झौताभन्दा सम्झौता नहुनु राम्रो हो भन्ने गरेको थिएँ । तर अहिले हेर्दा ब्रेक्जिटै नहुनुभन्दा मेको सम्झौतासहितको ब्रेक्जिट हुनु उपयुक्त देखेको छु ।’
ब्रेक्जिटलाई अब कुनै घटना भन्दा पनि एक प्रक्रियाका रूपमा हेरिनुपर्ने उनले बताए । यो प्रक्रिया खुल्नका लागि समय लाग्छ ।
रीस–मोगले मेको सम्झौतामा समर्थन जनाएको भए पनि युरोपेली अनुसन्धान समूहले यसको समर्थन गरेको छैन र त्यस समूहका अन्य सदस्य यसविरुद्ध लाग्ने सम्भावना छ ।
एजेन्सी