
धनगढी- पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको रानाथारु वस्तीमा होरी अर्थात होलीको रमझम बिहीवार विधिवत रूपमा विसर्जन गरिएको छ । अन्य समुदायमा होली पर्वको विधिवत समापन चैत ७ गते नै सम्पन्न भयो । तर विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहँदै आएको सो समुदायमा एक साता ढिलो विसर्जन भएको हो ।
उसो त एक महिना पहिल्यैदेखि यो समुदायमा होरीको विधिवत शुरूआत गरिन्छ । दुई चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदाय पहिलो चरण अर्थात माघ महिनाको पूर्णिमा (फागुन ७ गते) देखि फागुन पूर्णिमा (चैत ७ गते)सम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाउँदै आएको बताइन्छ । यसरी १ महिना ८ दिनसम्म यो समुदायमा होरी मनाइन्छ ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका स्थानीयसमेत रहेका प्रदेश सभा सदस्य एवं रानाथारु बुद्धिजीवी मालामति रानाले होरी मनाउने विधिबारे प्रकाश पार्दै भनिन्, ‘माघ पूर्णिमाको राति गाउँको दक्षिणी सीमानामा पूजापाठ गरेर त्यहाँ ७ वटा कन्डा (गुइठा) छोड्छौं, त्यसपछि होरीको शुरूआत हुन्छ । फागुन पूर्णिमा नआउन्जेलसम्मको १ महिनाको अवधिमा प्रत्येक रात घर–घरमा गई होरी सम्बन्धी गीत गाउने र सामूहिक रूपमा नाच्ने प्रचलन रहिआएको छ ।’

उनको अनुसार गाउँको दक्षिणी सीमानामा १ महिना पहिल्यै छोडिएको गुइठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाइसहित जलाइन्छ । दैत्य हिरण्य कस्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइठालगायत वस्तुहरूलाई विधिपूर्वक पूजापाठ गरी जलाउने गरिन्छ ।
असत्यमाथि सत्यको जीतको अवसरमा मनाइने यस पर्व मनाउने तौरतरिकामा भने समुदाय पिच्छे विविधता पाइन्छ । यहाँसम्म कि १ महिना ८ दिनसम्म होरी मनाउने रानाथारु समुदायले फागु पूर्णिमापछिको १ दिनमा मात्रै रंग अविरको प्रयोग गरिने बताउँछिन् धनगढी–७ देवहरियाकी ७३ वर्षीया करुवा देवी राना ।
रानाथारु समुदायमा होरीको विधिवत समापन गर्ने पनि अनौठो तरिका पाइन्छ । होरीको अन्तिम दिनको बिहानै सबै गाउँलेहरू माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सीमानामा भेला हुन्छन् । बनाएर लगिएको ती माटाका गोलीहरूलाई यो समुदायमा खक्रेरा भन्ने गरिन्छ । गाउँको भर्रा (पूजारी)ले विधिवत रूपमा पूजापाठ गरिसकेपछि ती खक्रेरालाई फुटाएर होरीको विधिवत विसर्जन गरिने उनको भनाइ छ ।