
काठमाडौं – स्पेनको राजधानी मड्रिडमा रहेको आफ्नो दूतावासमा गत महिना छापा मारिएको घटनालाई उत्तर कोरियाले गम्भीर आतंकवादी आक्रमणका रूपमा वर्णन गरेको छ ।
पहिलोपटक आधिकारिक टिप्पणी दिँदै प्योङयाङले यसमा अनुसन्धानको आह्वान गरेको छ र यस घटनामा अमेरिकाको एफबीआईको भूमिका रहेको भन्ने हल्लालाई नजिकबाट हेरिरहेको बताएको छ ।
उत्तर कोरियाका शासक किम जोङ–उनलाई सत्ताच्युत गर्नका लागि प्रतिबद्ध एक समूह चियोल्लिमा सिभिल डिफेन्सले उक्त घटना आफूहरूले गराएको दाबी बुधवार गरेको छ ।
उक्त समूहले दूतावासबाट कम्प्युटर र डेटाहरू लिएर गएको र एफबीआईलाई प्रमाणका रूपमा दिएको बताएको छ ।
प्रमुख आरोपितहरूका विरुद्ध कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय पक्राउपूर्जी जारी गरिएको छ ।
स्पेनी अधिकारीहरूका अनुसार, उक्त समूहका एक व्यक्ति एड्रियन होङ चाङले वाणिज्यदूतलाई भेट्न चाहेको भनी दूतावासमा प्रवेश गरेका थिए र उनले पहिले पनि व्यापारिक कुराकानीका लागि वाणिज्यदूतलाई भेटेको बताएका थिए । उनी भित्र पसेपछि उनका मतियारहरू छिरेका थिए ।
यो समूहले वाणिज्यदूतलाई केरकार गरेको र उनलाई भगौडा बन्नका लागि विश्वस्त तुल्याउन खोजेको आरोप छ । उनले त्यसो गर्न नमानेपछि उनीहरूले उनलाई बाँधेर भुइँतल्लामुनि राखेका थिए ।
भित्र पस्ने अन्य दुई सदस्य अमेरिकी नागरिक साम –यु र दक्षिण कोरियाली वू रान ली हुन् ।
दूतावासका कर्मचारीलाई कैयौं घन्टासम्म बन्धक बनाइएको थियो । एक महिला भाग्न सफल भएकी थिइन् । उनले झ्यालबाट भागेर गुहार लगाएकी थिइन् । चिन्तित छिमेकीहरूले तत्कालै प्रहरी बोलाएका थिए ।
प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुग्दा उनीहरूलाई एड्रियन होङ चाङले स्वागत गरेका थिए । उनले किम जोङ–उनको अनुहार भएको ब्याज भएको ज्याकेट लगाएर आफूलाई कूटनीतिज्ञका रूपमा प्रस्तुत गरेका थिए ।
प्रहरीलाई उनले सबै कुरा ठीक रहेको बताएका थिए ।
समूहका अधिकांश सदस्य उत्तर कोरियाका कूटनीतिक नियोगका गाडी चढेर दूतावासबाट भागेका थिए । होङ चाङ तथा अन्य चाहिँ अलि पछि अर्को गाडी चढेर पछिल्तिरबाट भागेका थिए ।
उनीहरू चार समूहमा विभाजित भएर पोर्चुगलतिर लागेका थिए । अमेरिकामा बस्ने मेक्सिकोका नागरिक होङ चाङले पाँच दिनपछि एफबीआईलाई घटनाक्रमको बेलीविस्तार लगाएको बताइएको छ ।
बीबीसीबाट