
काठमाडौं – आइतवार राति तराईमा आएको आँधीहुरीमा ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।
आँधीहुरीका कारण बारा र पर्साका कैयौ परिवार घरवारविहीन भएका छन् । हुरीले घर भत्काएको र छाना उडाएका कारण कतिपय परिवारको गाँस, बासको ठेगाना समेत छैन ।
हुरी प्रभावितको यकिन विवरण तयार भइनसकेपनि ठूलो संख्यामा परिवारहरू प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ । सँगसँगै घरवारविहीन परिवारको व्यवस्थाको समेत जिम्मेवारी सरकारमाथि आएको छ ।
तराईका हुरी प्रभावित परिवारको घर र छाना व्यवस्थापनको चिन्ताले सताइरहेका बेला भूकम्प पीडितका लागि भनेर खरिद गरिएका जस्तापाता वीरगञ्जस्थित गोदाममा रहेको पाइएको छ ।
भूकम्प पीडितका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३ वर्षअघि खरिद गरेका जस्तापाता वीरगञ्जको गोदाममै थन्किएका छन् । वीरगञ्जको गोदाममा रहेका जस्तापाताले बारा र पर्साका हुरी पीडितलाई राहत दिन सकिने सरकारी अधिकारी बताउँछन् । तर साल्ट ट्रेडिङ स्वामित्वको जस्तापाता हुरी पीडितलाई बाँड्न सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।

भूकम्प पीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङले खरिद गरेको ५० हजार बन्डल जस्तापाता वीरगञ्जको गोदाममा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।
२०७२ वैशाखमा भूकम्पपछि पीडितलाई उपलब्ध गराउन सरकारले ट्रेडिङलाई ५० हजार बन्डल जस्तापाता खरिद गर्न अनमुति दिएको थियो । सरकारी निर्णय अनुसार खरिद गरेर ल्याएको ५० हजार बन्डल जस्तापाता वीरगञ्जस्थित ट्रेडिङको गोदममै थन्किएको साल्ट ट्रेडिङका व्यापार निर्देशक पंकज जोशीले बताए ।
सरकारले भूकम्प पीडितलाई जस्तापाताको सट्टा १५ हजार रुपैयाँ नगद उपलब्ध गराएपछि जस्तापाता गोदाममै थन्किएका थिए । ती जस्तापाता बिक्रीका लागि टेन्डरको सूचना आह्वान भएपनि बिक्री भइसकेका छैनन् । ‘यसअघि १ पटक टेन्डर जारी गरेका हौं, कोही आएनन्,’ जोशीले सोमबार लोकान्तरसँग भने, ‘अझै टेन्डरको सूचना निकाल्ने तयारीमा छौं ।’
३ वर्षअघि खरिद गरेको जस्तापाताको त्यतिबेलाको मूल्य करीब ३० करोड रुपैयाँ रहेपनि हाल जस्तापाताको मूल्य ४० करोड रुपैयाँ पर्ने साल्ट ट्रेडिङका अधिकारी बताउँछन् । गोदाममा रहेका जस्तापाता उपयुक्त ठाउँमा प्रयोग गरी साल्ट ट्रेडिङलाई परेको आर्थिक भार व्यहोर्न यसअघि संसदको तत्कालीन उद्योग, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई पटक–पटक निर्देशन दिएको थियो ।