
काठमाडौं – युक्रेनका राष्ट्रपति उम्मेदवार भोलोदिमीर जेलेन्स्कीले राष्ट्रिय निर्वाचनको पहिलो चरणमा अग्रता लिएको केन्द्रीय निर्वाचन आयोगले सोमवार जनाएको छ ।
आइतवार सम्पन्न निर्वाचनमा ६० प्रतिशत मतगणना मात्र भएको छ । त्यसमा हास्यकलाकार र राजनीतिमा नवप्रवेशी जेलेन्स्कीले ३०.४ प्रतिशत मत पाएका छन् । उनलाई विद्रोही उम्मेदवारका रूपमा हेरिएको छ र उनले जवान मतदातालाई अपील गरेका छन् ।
‘म सबै युक्रेनीहरूलाई धन्यवाद दिन्छु जसले रमाइलोका लागि मात्र मत दिएनन्,’ उनले रेडियो लिबर्टीसँगको अन्तर्वार्तामा भने ।
जेलेन्स्कीले युक्रेनी टीभी शृंखला सर्भेन्ट अफ द पीपुलमा खेलेका थिए जहाँ उनी एक असफल शिक्षकबाट अनपेक्षित रूपमा देशको राष्ट्रपति बनेका थिए । वास्तविक जीवनमा पनि उनी राष्ट्रपति बन्ने आशा लिएर बसेका छन् ।
उनले खसेकोमध्ये ५० प्रतिशत मत नल्याएमा अप्रिल २१ मा दोस्रो चरणको निर्वाचनमा भाग लिनुपर्ने हुन्छ । त्यतिखेर उनको प्रतिस्पर्धा बहालवाला राष्ट्रपति पेट्रो पोरोशेन्कोसँग हुने सम्भावना छ । पोरोशेन्कोले कसल मतको १६.४ प्रतिशत ल्याएका छन् ।
प्रारम्भिक नतिजाअनुसार, पूर्व प्रधानमन्त्री युलिया टीमोशेन्कोले १३.१ प्रतिशत मत ल्याएकी छन् ।
जेलेन्स्कीसँग खासै राजनीतिक अनुभव छैन तर उनको व्यापार साम्राज्य निकै ठूलो छ । उनले मनोरञ्जन जगतमा करोडौंको सम्पत्ति जोडेको बताइन्छ ।
उनका नीतिहरूमा कुनै गहिराइ नरहेको भनी आलोचना हुने गरेको भए पनि जेलेन्स्कीले सुधारवादी विज्ञहरूलाई आफ्नो सल्लाहकार टोलीमा राखेका छन् ।
सीएनएनबाट