
काठमाडौं– बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन । पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको विपत्ति अनुमान नै गर्नु भएन ।
साँझ एक्कासि स्याटेलाइटले हावाको बेग पूर्वतिर फर्किएको देखायो । “म हरेक दश मिनेटमा स्याटेलाइटले पठाएको तस्बिर हेर्दै थिएँ, अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक तीन–तीन मिनेटमा हेर्न थालें,” उहाँले थप्नुभयो, “मौसमको सङ्केत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासि वर्षा, हुण्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन ।”
वर्षात्सँगैको हुरीले बारा र पर्सामा कतिपयको ज्यान लिइसकेको थियो । धेरै घाइते भइसकेका थिए । धेरै जनाको घरबास उडाइसकेको थियो । फोनबाट उताको वास्तविक खबर पाए पनि प्रविधिले दिने सूचनाबाट भने उहाँ आफै सो समयमा जानकार हुन सक्नुभएन ।
नेपालमा हावा नै नचल्दा पनि ४० नटको हावाको वेग देखाउने स्याटेलाइटले साँझ त्यस्तै सङ्केत गरिरहेको थियो । यो भनेको अत्यधिक वेग हो । यस्तो त्यसै देखायो कि साँच्चिकै देखायो भन्ने अनुमान अर्याल लगायतका पूर्वानुमानकर्मीले गर्न सकेनन् । नेपालमा सामान्यतया १० देखि २० नटसम्मको हावाको वेग अनुमान गरिन्छ । २० नटमा दश मिटर प्रतिसेकेण्ड वायुको वेग रहेको मानिन्छ ।
आइतबार साँझ आएको हावाहुरीसहितको प्राकृतिक विपत्तिको जानकारी यकिन नहुँदा पूर्वतयारी गर्न कसैले सकेनन् । “बङ्गालको खाडी र अरेबियन खाडीको ठूलो आँधीहुरी र ठूलो वर्षाको अनुमान वर्तमान प्रविधिले गर्छ,” जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले भन्नुभयो, “उच्च गतिमा थोरै समयका लागि आउने विषम मौसमको अवस्था समात्नै सक्दैन ।” विश्वव्यापी स्याटेलाइटको मोडेलले विश्वव्यापी घटना मात्र खुट्याउन सक्ने उहाँले दाबी गर्नुभयो ।, गोरखापत्रमा खबर छ ।
३ मिनेटमै महाविनाश
६२ वर्षे महन्थ रामलाई लागेको थियो–आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरूको झै सामान्य नै होला । साँझ ७ बजे शुरु भएको असिना पानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुयार्एको थिएन ।
जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । शुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो ।
‘सामान्यै त होला भनेर हिम्मत गरेर घरबाट निस्किएको थिएँ, ‘बारा चैनपुरका रामले भने, ‘हावाको झोक्का यति तातो अनुभव गरेँ जुन यसअघि कहिल्यै महसुस गरेको थिइनँ । हेर्दा हेर्दै गाउँका ३ सय घरका छाना र भित्ता केही बाँकी रहेनन् । पक्की घरका छाना र पर्खाल पनि खसे ।’ सोही गाउँका ७५ वर्षीय वृद्ध हिरामन महराको मुटु अझै काँपिरहेको छ । जीवनमै यस्तो शक्तिशाली हुरी नभोगेका उनले २ घर गुमाए ।, कान्तिपुरमा खबर छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
उक्त घटनामा परेर २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । ठूलोमात्रामा आर्थिक क्षति भएको छ । उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ । बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने बैठकले गरेको निर्णय छ । प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्बन्धित निकायले थप सतर्कता अपनाउन निर्देशन दिँदै बैठकले त्यसका लागि तत्काल आवश्यक कदम चाल्ने निर्णय समेत गरेको छ ।
बैठकले यस दुःखद् परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अङ्ग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था एवं गैर सरकारी संस्थालाई समन्वयात्मकरुपमा परिचालन गरी विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
तस्वीर बिगारेर फेसबुकमा पोस्ट गर्ने दुई जना पक्राउ
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पाल्पा बराङ्दी गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविक शंकरनगर गाविस वडा नम्बर ८ का २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो ।
निर्मललाई भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसादलाई चितवनबाट प्रहरीले पक्रेको हो । पक्राउ परेका दुबै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।
व्यक्तिगत कुण्ठा पार्टीमा छलफल गर्न ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता प्रकृया पूरा नभई व्यक्तिगत कुण्ठा पोख्ने र गुटबन्दी गर्नेबाट होशियार हुन कार्यकर्तालाई निर्देशन दिनु भएको छ । झापाको दमकमा आयोजीत नगर तथा वडा समितिका सदस्यको शपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका ओलीले कसैका कुण्ठा छन् भने पार्टी कमिटीमा छलफल गर्न आग्रह गर्नु भयो ।
सार्वजनिक रुपमा बोल्दै नहिँड्न उहाँको आग्रह छ । दुई पार्टीबीच एकता प्रकृया चलिरहेका बेला गुटबन्दीको कुरा गर्नु, बरियता मिलेन भन्नु उपयुक्त नहुने उहाँको तर्क छ ।
स्थगित एसईईको मिति तय
प्रदेश २ मा स्थगित भएको एसईईको परीक्षा आगामी चैत २२ गतेदेखि निरन्तर हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबारको बैठकले चैत २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार, चैत २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयका परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेश २ मा विज्ञान, सामाजिक र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र लगातार बाहिरिएको थियो ।
एन्फाको आर्थिक नियमावली र कार्यविधि जारी
अखिल नेपाल फुटबल संघ एन्फाले आर्थिक नियमावली र कार्यविधि जारी गरेको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक गतिविधि पारदर्शी बनाउन तयार पारेको कार्यविधि तथा आर्थिक नियमावली जारी गरेको हो ।
नियमवाली र कार्यविधि यही चैत ९ गतेदेखि नै लागु भइसकेको एन्फाले जनाएको छ । नियमावली र कार्यविधिमा एन्फाको बजेट, खेलाडी भत्ता, पदाधिकारी भत्ता, खरिद तथा बिक्रि, जिन्सी रेकर्डलगायतका बिषयहरू समेटिएको छ ।
यस्तै फिफा र एएफसीबाट आएको अनुदानहरु कसरी कार्यन्वयन गर्ने भन्ने उल्लेख छ । नियमावली अनुसार खेलाडीले पाउँदै गरेको २० डलर भत्ता बढाएर ३५ डलर बनाइएको छ भने १ लाख रुपैयाँ सम्मको सामान सिधैं खरिद गर्न सक्ने, १० लाखसम्म कोटेशनका आधारमा र त्यसभन्दा माथि टेण्डर मार्फत खरिद गर्नु पर्ने व्यवस्था गरिएको छ ।