१३ साउन २०८३, बुधबार

क्रिकेटको ‘हव’ प्रशिक्षकविहीन

क्रिकेटको ‘हव’ प्रशिक्षकविहीन

भीमदत्तनगर-  नेपाली क्रिकेटको इतिहासमा एकपछि अर्को अनवतरूपले अन्तर्राष्ट्रियस्तरमै सहभागी हुने खेलाडी उत्पादन गरिरहेको जिल्लामा क्रिकेट प्रशिक्षक छैनन् भन्दा पत्यार लाग्न गाह्रो होला । तर त्यो यथार्थ सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा देख्न सकिन्छ ।

विसं २०५० को सेरोफेरोयता कञ्चनपुरको भीमदत्तनगरमा क्रिकेटको गतिविधि प्रायः निरन्तर भइरहँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले भने यो अढाइ दशकको समयमा एउटा पनि क्रिकेट प्रशिक्षक कञ्चनपुरलाई दिएको छैन । क्रिकेट सङ्घ, केही अग्रज क्रिकेट खेलाडी र जिल्ला खेलकूद विकास समितिको सामान्य सहयोगले कञ्चनपुरको भीमदत्तनगरमा भइरहेको क्रिकेटको योगदान भने देशको राष्ट्रिय क्रिकेटसम्म छ ।

विनोद भण्डारी, प्रदीप ऐरी, नरेश बुढाऐर, ललित भण्डारी, विक्रम सोप, भीम सार्की र सन्दीप जोरा नेपाली क्रिकेट जगत्का परिचित नाम हुन् । यी सबै खेलाडी भीमदत्तनगरकै उत्पादन हुन् । त्यसैगरी पछिल्लो समय उदाउँदै गरेका कमल ऐरी, आकाश चन्द, डली भट्ट र विन्दु रावल पनि भीमदत्तनगरकै उत्पादन हुन् । झण्डै दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका नायक हुन्– वीरेन्द्रबहादुर शाही ।

भीमदत्तनगरका पुराना राष्ट्रिय खेलाडी शाहीले विगत १६ वर्षदेखि क्रिकेटप्रतिको मोहकै कारण खेलाडी उत्पादनमा सक्रिय रहँदै आउनुभएको छ । कञ्चनपुरमा राज्यको कुनै सेवासुविधा नलिएर स्वयंसेवक प्रशिक्षकका रूपमा कार्यरत शाहीले केही समययता भने गुजारा नै नचल्ने अवस्था आएपछि कञ्चनपुर क्रिकेट एकेडेमी सञ्चालन गरिरहनुभएको छ ।

उहाँको क्रिकेट एकेडेमीमा हाल महिला तथा पुरुष गरेर ६० खेलाडी नियमित प्रशिक्षणमा छन् । “जीवनकै ठूलो कमाइ भनेको मैले हुर्काएका खेलाडीले देशको नाम बेलाबखतमा चिनाउँछन् त्यही हो”, शाहीले भन्नुभयो, “सेवानिवृत्त हुनेबेला भयो तर के गर्ने आफ्नो जागिर नै भएन ।” विसं २०५२ मा यहाँबाट राष्ट्रिय प्रतियोगिता खेलेर २०५६ देखि यहाँ प्रशिक्षणमा रहनुभएका शाहीले क्रिकेटमा लागेर आत्मसन्तुष्टिबाहेक केही नपाएको दुखेसो पाख्नुभयो ।

“राष्ट्रिय खेलकूद परिषद्बाट अहिलेसम्म क्रिकेटको ‘हव’ कञ्चनपुरले प्रशिक्षक नपाउनु दुःखद् विषय हो”, उहाँले भन्नुभयो । “यो बाह्रैमास क्रिकेट गतिविधि र प्रशिक्षण भइरहने जिल्ला पनि हो”, शाहीले भन्नुभयो, “यहाँ हावापानी, आधीँबेहरी केही हेरिन्न ।” नेपाली ‘सिनियर’ तथा ‘जुनियर’ टोली घोषणा हुँदा भीमदत्तनगरको खेलाडी टिममा नपरेको कुनै समय नरहेको शाहीको भनाइ छ ।

“राज्यबाट यहाँ बेवास्ता भए पनि नेपाल क्रिकेट सङ्घ (क्यान) र हाम्रो नियमितको लगनशीलताले अभावका बीच पनि खेलाडी एकपछि अर्को जन्मिएकै छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय क्रिकेटप्रति बढेको मोहले खेलाडी पनि बढ्ने क्रम धेरै छ ।” भीमदत्तनगरस्थित कभर्डहल परिसरमा क्रिकेट प्रशिक्षण गराउँदै आउनुभएका शाहीले यहाँ स्तरीय क्रिकेट मैदानको अझै अभाव रहेको बताउनुभयो ।

“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भन्दै राखेपले पहिलोपटक मलाई यहाँ दुईमहीने स्वयंसेवक प्रशिक्षकमा नियुक्त गरेको छ”, उहाँले भन्नुभयो, “धेरथोर सहयोग क्रिकेटका लागि जिल्ला खेलकूद विकास समितिबाट मिलेको छ ।” उहाँले स्वयंसेवक प्रशिक्षकको सक्रियतामा यहाँको क्रिकेट सञ्चालन भइरहेको बताउनुभयो ।

भीमदत्तनगरको क्रिकेटलाई चलायमान बनाउनुभएका शाहीले भारतको कोलकातामा क्रिकेट खेल शुरु गरेको बताउनुभभो । “बुवा भारतीय सेनामा जागिर हुँदा मैले उहाँसित कोलकतामै बसेर क्रिकेट सिकेँ”, उहाँले भन्नुभयो, “विसं २०४९ मा यहाँ आएपछि क्रिकेट प्रशिक्षक सुनोध भट्टराईबाट दश दिन प्रशिक्षण लिएको थिएँ ।” बहराइनमा क्रिकेट प्रशिक्षकको ‘लेवल–वान’ समेत गरिसकेका शाहीले क्रिकेट एकेडेमीमा खेलाडीले मासिक बुझाउने शुल्कबाट सामान्य खर्च चलाउनुभएको छ ।

यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेका सिनियर खेलाडीले फुर्सदको समयमा यहाँ प्रशिक्षित नयाँ खेलाडीलाई अनुभव बाँड्ने गरेका छन् । कुनैबेलाका चल्तीका खेलाडी चन्द्र साउद, माया रावल, दीपेन्द्र चन्द, रोशनी बोहराजस्ता अनुभवी खेलाडी पनि भीमदत्तनगरकै हुन् । “पहिले खेलमा भविष्य नदेख्दा धेरै खेलाडी पलायन भए”, शाहीले भन्नुभयो, “अहिले क्रिकेटमा भविष्य देख्दै खेलाडीले परिवारबाट पनि राम्रो सहयोग पाइरहेको देख्छु ।” विसं २०६५ मा सुदूरपश्चिमको पहिलो महिला टिम खडा गर्ने श्रेय पनि शाहीलाई नै जान्छ ।

“यत्तिको वर्ष क्रिकेट भनेरै लागिपरेँ, अब छाड्न सकिन्न”, उहाँले भन्नुभयो, “पीडाका बीच पनि क्रिकेटलाई गति दिएकै छु ।” भीमदत्तनगरमा शाहीसँगै एकेडेमीमा आवद्ध भएर क्रिकेटका राष्ट्रिय एम्पायर गणेश जाग्री पनि क्रिकेटको विकासमा प्रत्यक्षरूपमा लागिरहनुभएको छ । यहाँ सक्रिय स्वयंसेवक प्रशिक्षकहरु राष्ट्रिय प्रशिक्षक जगत टमाटासित नियमित समन्वय र सम्र्पक गर्न भने छुटाउँदैनन् । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्र चन्दले क्यान र राखेपले यहाँ प्रशिक्षक नियुक्त नगरेको बताउनुभयो ।

“क्रिकेटमा खेलाडीको ऊर्जा छँदैछ”, उहाँले भन्नुभयो, “राज्यले बेवास्ता नै गरेजस्तो देखिएको छ ।” सुदूरपश्चिममा बृहत् छैटौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुँदा भीमदत्तनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदन निर्माण गरिएको थियो । खेलमैदान अभावले अहिले अन्य खेलका खेलाडीले पनि क्रिकेट मैदानमै प्रशिक्षण गर्नुपर्ने बाध्यता छ ।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर क्रिकेट खेलाडी उत्पादनको उर्वरभूमि रहेको बताउनुभयो । “क्रिकेटको विकासका लागि केन्द्रमा पहल गरेकै हो”, उहाँले भन्नुभयो, “नेपालमै क्रिकेट प्रशिक्षकको अभाव छ ।” क्रिकेट एकेडेमी बनाउन करोडौँको योजना राखेपले अघि सारेको उहाँको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्